केन्टकीमा नेपालीहरूको भव्य पिकनिक तथा खेलकुद कार्यक्रम सम्पन्न

Enepalese Published on: August 4, 2025

लुइभिल, केन्टकी – नेपाली समुदायको सामाजिक सद्भाव, संस्कृतिक सम्प्रेषण र पुस्ता सन्तुलनलाई समेट्ने हेतुले नेपाल अमेरिका सोसाइटी अफ केन्टकी (नास्क) को आयोजनामा आइतवार एक भव्य पिकनिक तथा खेलकुद कार्यक्रम लुइभिल शहरमा सफलता पूर्वक सम्पन्न भयो।

कार्यक्रममा हजुरबुबा-हजुरआमादेखि नाति-नातिनासम्मको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले विभिन्न पुस्ताबीच आत्मीय सम्बन्ध सुदृढ गर्न सहयोग पुर्‍यायो।

नास्कका अध्यक्ष वद्री दाहाल ले बताएअनुसार, “हाम्रो उद्देश्य नयाँ पुस्तालाई नेपाली संस्कृति र संस्कारसंग परिचित गराउनुका साथै समुदायभित्रको आत्मीयता झन प्रगाढ बनाउनु हो।” उहाँले थप गर्नुभयो कि नास्कले वर्षैभरि चाडपर्व, खेलकुद र सांस्कृतिक कार्यक्रमहरूमार्फत नेपाली समुदायलाई एकताबद्ध राख्ने निरन्तर प्रयास गर्दै आएको छ।

विविध गतिविधिले भरिएको रमाइलो दिन

कार्यक्रममा वयस्कहरूका लागि भलिवल प्रतियोगिता आयोजना गरियो, जसले सहभागिहरूमा उत्साह र प्रतिस्पर्धात्मक भावना भर्न सफल भयो। उता, बालबालिकाहरूका लागि दौड, संगीत कुर्सी, चित्रकला लगायतका रमाइला प्रतियोगिताहरू सञ्चालन गरिए, जसमा उनीहरूले खुलेर सहभागिता जनाए।

प्रतियोगितामा विजयी बालबालिकालाई आकर्षक पुरस्कारहरू प्रदान गरिए, भने सबै विद्यार्थीहरूलाई शैक्षिक सामग्री (नोटबुक) वितरण गरियो, जसले तिनीहरूको अध्ययनमा थप उत्प्रेरणा दिने विश्वास लिइएको छ।

संस्कृति, एकता र सद्भावको समागम

नास्कको यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई, प्रवासी भूमिमा नेपालीपनको जगेर्ना गर्ने एउटा सशक्त माध्यम बन्न सफल भयो। विविध कार्यक्रममार्फत सहभागीहरूले आफ्नो सांस्कृतिक पहिचानलाई नविकरण गर्ने अवसर पाए, भने नयाँ पुस्ताले नेपालप्रतिको जिज्ञासा र आत्मीयता अनुभूति गरे।

कार्यक्रमको सफल आयोजनामा नास्कको कार्यसमिति, स्वयंसेवकहरू, अभिभावकहरू र सहभागी सम्पूर्ण समुदायको योगदान अत्यन्त प्रशंसनीय रह्यो।