(कथा)

छायापुर एउटा रमणीय गाउँ थियो । गाउँ रमाइलो भए पनि यहाँका मानिसमा अन्धविश्वास व्याप्त थियो । यहाँका मानिसहरू अनौठो तरिकाले काग कराउँदा तर्सिन्थे । बिरालाले बाटो काटे अनिष्ट हुने ठान्थे । अनिष्टको आशङ्कामा उनीहरूको जीवनकथा नै मोडिन्थ्यो । कसैले अनौठो सपना देख्यो भने भोलिपल्ट पानी पनि नखाई बस्ने चलन थियो । विशेष गरी कालो बिरालोलाई त गाउँभरि अनिष्टको प्रमुख सङ्केत ठानिन्थ्यो ।
यसै गाउँको एक विद्यालयमा सहरबाट विज्ञान पढेर फर्केका युवक आर्यन शिक्षण गर्थे । उनलाई बाल्यकालदेखि नै केही प्रश्नको उत्तर जान्ने इच्छा थियो । “कसरी रातको अँध्यारामा भूत देखिन्छ ? बिरालाले बाटो काट्दा के साँच्चिकै दुर्घटना हुन्छ ?” आर्यनको सोच गाउँलेको विश्वासभन्दा धेरै टाढा थियो ।
यस वर्ष छायापुर गाउँमा बाटो बन्दै थियो । बाटो बनाउने जिम्मा स्थानीय विक्रमले लिएका थिए । एक दिन बिहान सबेरै विक्रमले गाउँका सबै गाउँलेलाई बोलाए र भने, “हामीले बनाउने यो नयाँ बाटामा कालो बिरालो तीन पटक देखियो । त्यो भुत्ते खोलाबाट निस्केर पदम दाइको घरतिर लागेको मैले पनि देखेँ । अब त्यो दाउँ अपवित्र भयो । बाटाको काम रोक्नुपर्छ र केही स्वस्तिशान्ति गरेर अर्को ठाउँबाट बाटो लानुपर्छ ।”
यो सुनेर आर्यन चकित भए । उनले विक्रमसँग भने, “के एक सामान्य जनावरको कारण हामी विकास रोक्न सक्छौँ ? बाटो त त्यही ठाउँबाट जानुपर्छ नत्र यो बाटाले यस गाउँका लागि कुनै फाइदा पुग्दैन । ”
विक्रमले हकार्दै भने, “हामी पाका मान्छेले जे भन्छौँ त्यो अनुभवको निचोड हो । किताब अनुभव होइन । मानिसलाई किताबले होइन, जिन्दगीले सिकाउँछ । जिन्दगी विश्वासको पुञ्ज हो, शिक्षकको व्याख्यान होइन ।”आर्यनलाई उत्तर दिन त मन थियो तर एक्लो वृहस्पति झुटा हुने डरले केही भनेनन् ।
त्यही साँझ गाउँकी झम्कली आमा गैरी खेतको काम सकेर फर्किँदै थिइन्, झरना छेउमा कालो बिरालो अगाडि देखियो । उनी डरले थरथरी काँपिन् । भाग्न खोज्दा तल लडिन् र देब्रे खुट्टा मर्कियो । एकै छिनमा गाउँभरि हल्ला चल्यो, कालो बिरालाले झम्कली आमालाई लग्यो रे ! अब उनी बाँच्दिनन् रे ।” अनिष्टको डरले कोही गाउँलेले त्यहाँ जाने आँट गरेनन् ।
कुरा सुन्नासाथ आर्यन दौडिएर त्यहाँ पुगे र उनलाई अस्पताल पुर्याए । आमा बेलुका घर नफर्केपछि त सबैलाई कालो बिरालाले नै लगेको भन्ने विश्वास भयो । आमालाई अस्पताल पुर्याएर खाना लिन घर फर्केका आर्यनले गाउँलेबाट अनेकौँ कुरा सुनेपछि मोटर साइकल बन्द गर्दै भने, “आमा डराएर लड्नुभयो होला । बिरालाले के गर्न सक्छ र ? खुट्टा मर्कियो होला, अस्पताल गए एक दुई दिनमा निको भइहाल्छ नि । ” उनले सबै कुरा खोलेनन् तर
मानिसहरू आर्यनको कुरा सुन्न तयार थिएनन् ।
आर्यनले विद्यालयमा ‘विज्ञान र चेतना सप्ताह’ भन्ने कार्यक्रम आयोजना गरे । त्यहाँ उनले परम्परागत अन्धविश्वासका केही उदाहरण र मानिसमा रहेका विश्वासबारे लेखेर राखे । उनले भनेका थिए, “ कालो बिरालो अन्धकारमा हिँड्न सक्ने भएकाले रातको समयमा बढी देखिन्छ । सूर्यको ऊर्जाको परिवर्तनका कारण काग कराउने आवाज फरक फरक हुन्छ । राति जङ्गली कराउँदा भूत आएको होइन । यो त उल्लु वा चमेराको आवाज हो । सपना, हल्ला, अनिष्टको सङ्केत मनोवैज्ञानिक भ्रम हुन् । यी वास्तविक होइनन् ।”
यस्ता कुरा पढेर र सुनेर युवाहरू उत्साहित भए । बालबालिकाले नयाँ प्रश्न गर्न थाले । तर बुढापाकाले ओठ लेब्य्राए । उनीहरू अझै आशङ्कामा थिए । उनीहरूलाई विश्वास थियो, “गाउँको पिपलको रुखमा जङ्गली बस्ने भएकाले रातमा आवाज आउँछ । शिक्षकलाई यसबारेमा थाहै छैन !”
यो भ्रम चिर्न आर्यनले विज्ञान विषयमा स्नातक गरिरहेकी लक्ष्मीको सहयोगमा एक योजना बनाए । योजनाअनुसार उनीहरू टर्च, रेकर्डर र क्यामेरा लिएर राति त्यही पिपलको रुखमुनि गए ।
रातको साढे बाह्र बजेको थियो, अचानक, पात हल्लिए अनि एउटा भयानक आवाज आयो …उलुलुलु । लक्ष्मीले सचेततासाथ मुस्कुराउँदै भनिन्, “यो त उल्लु हो ! कस्तो चर्को र डराउने गरी कराएको !” उनीहरूले सबै कुरा रेकर्ड गरे । ठुलो आँखा भएको उल्लु रुखमा बसेर कराएको र गाउँलले ठानेको जङ्गलीको आवाज पनि सुनिने भिडियो पनि बनाए ।
भोलिपल्ट स्कुलको प्राङ्गणमा सो भिडियो प्रस्तुत गरियो । आर्यनले भने, “जङ्गली भनेको भूत होइन । यो त एउटा चरो हो । चरा निश्चित समयमा मात्र कराउँछन् । रातमा आवाज ठुलो सुनिन्छ । त्यसैले हामीलाई यस्तो आवाज सुनेर डर लाग्छ । हामी त्यसलाई भूत ठान्छौँ । यो हाम्रो अन्धविश्वास हो । ”
बालबालिकाले ताली बजाए । युवाले खासखुस गरे, “हामी त भूतमा विश्वास गरेर झुटमा बाँचेछौँ ।”भिडियोमा जङ्गलीले निकाल्ने दुरुस्त आवाज उल्लुले निकालेको देखेपछि गाउँलेहरू केही चुपचाप देखिए, केही चाहिँ उत्सुक बने तर अन्धविश्वासको जरो अझै मक्किएको देखिएन ।
अर्को दिन विक्रमका छोरा चन्द्र राति स्कुटर लिएर बाहिर निस्के । बाटामा कालो बिरालाले बाटो काटेर गयो तर चन्द्र रोकिएनन् । केही पर पुग्दा स्कुटर लरबरियो र उनी लडे । गाउँमा हल्ला चल्यो “फेरि कालो बिरालाले चन्द्रलाई लग्यो रे ! मास्टरका कुरा गलत हुन् भन्ने अब त पुष्टि भयो नि ।” चन्द्रलाई बचाउन गाउँले जान सकेनन् ।
आर्यनले यो थाहा पाउनासाथ चन्द्रलाई तुरुन्त अस्पताल लगे । चिप्लो सडकमा ब्रेक चिप्लिएर उनको स्कुटर लडेको थियो । हेल्मेट नलगाएकाले उनको टाउकामा सानो चोट लागेको थियो ।” आर्यनले यसको पनि भिडियो बनाए । भिडियोमा चन्द्र पनि बोलका थिए । भोलिपल्ट चन्द्रकै भिडियो आयो, “मेरो लापरवाहीका कारण म लडेको हुँ । बिरालाले मलाई लगेको होइन, त्यो निर्दोष छ ।” यही बेला झम्कली आमा पनि आइपुग्नुभयो र भन्नुभयो, “मलाई पनि कालो बिरालाले लगेको होइन, लगेको त आर्यन सरले हो । उहाँले अस्पताल नलगेको भए म र चन्द्र दुवैको अवस्था के हुन्थ्यो, थाहा छैन ।” यो सुनेर एकछिन सन्नाटा छायो ।
अर्को दिन आर्यनले विद्यालयमा ‘सोध्न सिकौँ’ भन्ने कार्यक्रम राखे । त्यहाँ विद्यार्थीले प्रश्न गर्न थाले, “सर, काग किन कराउँछ? बिरालाले त घरका मुसा मार्छ । अनि मान्छेले उसको बाटो काट्दा चाहिँ अनिष्ट हुँदैन ? समाजमा भ्रम कसरी सिर्जना हुन्छ सर ?”
बुढापाकालाई पनि अचम्म लाग्यो । यही बिचमा विक्रम पनि आइपुगे र शिर अलिक झुकाएर नम्र स्वरमा भने, “हामी अनुभवले जान्दथ्यौँ तर कुरा पढेर बुझ्नुपर्ने रहेछ । अन्धविश्वासले होइन, यथार्थले मार्गदर्शन गर्दो रहेछ । मेरा पनि आँखा खुले आर्यन सर । अन्धविश्वासको छाया पुर्न अबको नेतृत्व तपाईँले गर्नुपर्छ । ”
अहिले गाउँमा जङ्गलीको डर छैन । आर्यनले कालो बिरालो पालेका छन् । विद्यालयमा विज्ञान क्लबमा नियमित छलफल हुन्छ । अब त केही बुढापाका पनि भन्न थालेका छन्, “अन्धविश्वास भयको उपज हो । यथार्थ ज्ञानको प्रकाश हो । डरले होइन, बुझाइले जीवन अघि बढ्छ । अन्धविश्वास केवल परम्पराको सिको हो, विज्ञानले तर्क र प्रमाणको सहाराले समाजमा यथार्थ उजागर गर्न सक्छ ।”
अहिले छायापुर अन्धविश्वासको होइन, चेतनाको छाया बनेको छ ।
प्रतिक्रिया