इरानको स्पष्ट अस्वीकार: अमेरिकी आणविक वार्ता योजना विश्वास गर्न सकिँदैन

इनेप्लिज २०८२ असार १२ गते १०:२८ मा प्रकाशित

इरानले अमेरिकासँग सम्भावित आणविक वार्ताको सन्दर्भमा आगामी हप्ता हुने भनिएको बैठकको पुष्टि गर्न अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार यस्तो बैठकको संकेत दिएका थिए।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने, “कूटनीति र वार्ताका विषयमा अमेरिकाको विरोधाभासी वक्तब्यबारे हामीसँग केही भन्नु छैन। पक्षहरू गम्भीर छन् कि छैनन् ,कि यो फेरि हाम्रो देश र क्षेत्रलाई अस्थिर बनाउने अर्को रणनीति हो — यसलाई मूल्यांकन गर्न आवश्यक छ।”

बघाईले अमेरिकी अधिकारीहरूबाट विभिन्न विरोधाभासी अभिव्यक्तिहरू आएको आरोप लगाए । “मस्काटमा बैठक हुनुभन्दा दुई दिन अघिनै अमेरिकाले इजरायललाई इरानमाथि हमला गर्न हरियो झन्डा(सही दिशाको संकेत) देखायो। अब कसरी विश्वास गर्न सकिन्छ?” उनले प्रश्न गरे।

ट्रम्पले बुधबार हेगमा पत्रकारहरूसँग भने, “हामी अर्को हप्ता इरानसँग भेट गर्दैछौं। सन्धि हुन सक्छ, नहुन पनि सक्छ। मलाई लाग्दैन कि त्यो खासै आवश्यक छ। उनीहरूले युद्ध गरे, अब आफ्नै बाटो लागे। मसँग सन्धि होस् या नहोस्, मलाई फरक पर्दैन।”

ट्रम्पले पुनः दोहोर्याउँदै भने, “हामी जे माग्दै थियौं, अहिले पनि त्यही माग गर्ने हो।” साथै उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट भइसकेको दाबी गरे।

प्रतिक्रिया