युक्रेनको कीभमा भीषण रुसी आक्रमण ,१४ जनाको मृत्यु १०० भन्दा बढी घाइते

इनेप्लिज २०८२ असार ३ गते ११:०५ मा प्रकाशित

युक्रेनी राजधानी कीभमा सोमबार राति भएको एक भीषण रुसी आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको र सयभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार बिहान जनाएका छन्।

कीभका नगर प्रमुख (मेयर )विताली क्लिच्कोका अनुसार, राजधानीका विभिन्न स्थानमा आपतकालीन उद्धार कार्य जारी छ। सोलोमियन्स्की जिल्लामा रहेको एक आवासीय भवनको सम्पूर्ण प्रवेशद्वार नै भत्किएको छ। क्लिच्कोले टेलिग्राममार्फत श्रब्यदृश्य (भिडियो)समेत सार्वजनिक गरे। उनले बुधबार शोकको दिन घोषणा गरेका छन्।

युक्रेनको वायु सेनाका अनुसार, आक्रमणमा ४४० मानव रहित यान (ड्रोन) र ३२ वटा क्षेप्यास्त्र (मिसाइल )प्रयोग गरिएका थिए, जसमा ४०२ मानव रहित यान र २६ वटा क्षेप्यास्त्र खसालिएको वा निष्क्रिय पारिएको छ। राजधानीसहित १० स्थानमा आक्रमण र ३४ स्थानमा भग्नावशेष खसेको बताइएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेंस्कीका अनुसार, देशव्यापी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। कीभ सबैभन्दा बढी प्रभावित भएको हो। ओडेसा, झापोरिझिया, चेर्निहिव, झाइटोमिर, किरोभोहराद र मिकोलेइभमा पनि क्षति पुगेको छ।

“यस्ता आक्रमणहरू शुद्ध आतंकवाद हुन्,” जेलेंस्कीले टेलिग्राममा लेखे। “रुसले जस्तोसुकै मूल्य चुकाएर पनि युद्ध जारी राख्न खोजेको छ। अब संसारले चुप लाग्न हुँदैन।”

युक्रेनी विदेशमन्त्रीले भने, “पुटिनको लक्ष्य जी७ नेताहरूलाई कमजोर देखाउनु हो — अब कडा कदम उठाउनुपर्छ।”

प्रतिक्रिया