इजरायल-इरान द्वन्द्व उत्कर्षमा: तेल अभिभस्थित अमेरिकी दूतावासमा पनि क्षति, मध्यपूर्वमा तनाव उच्च

इनेप्लिज २०८२ असार २ गते १०:५२ मा प्रकाशित

इजरायल रक्षा बलले चार दिनको द्वन्द्वका क्रममा इरानका १२० भन्दा बढी क्षेप्यास्त्र प्रक्षेपकहरू नष्ट गरेको दाबी गरेको छ, जुन इरानको कुल क्षेप्यास्त्र प्रक्षेपक क्षमताको एक तिहाई रहेको आईडीएफको भनाइ छ।

आईडीएफका प्रवक्ता एफी डेफ्रिनले सोमबार बताएअनुसार, इजरायली वायुसेनाले आइतबार साँझ इजरायली भूभाग लक्षित गरी प्रहार गर्न लागिएका २० भन्दा बढी सतह-देखि-सतह क्षेप्यास्त्रहरू ध्वस्त पारेको थियो।

डेफ्रिनले इजरायली वायुसेनाले मध्य इरानको इस्फाहानमा रहेका करिब १०० सैन्य लक्ष्यहरूमा आक्रमण गर्न ५० वटा लडाकु विमान र अन्य हवाई साधन प्रयोग गरेको बताए। प्रवक्ताका अनुसार, “यी हमलाहरूमा, इजरायल राज्यको भूभागमा प्रहार गर्न केही मिनेट अघि नै २० भन्दा बढी क्षेप्यास्त्रहरूलाई एकैसाथ नष्ट गरियो।”

यसैबीच, इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले सोमबार जानकारी दिएअनुसार, तेल अभिभस्थित अमेरिकी दूतावासको शाखालाई नजिकैको इरानी क्षेप्यास्त्र आक्रमणबाट “सामान्य क्षति” पुगेको छ। हकाबीले नजिकैको विस्फोटबाट उत्पन्न “शक वेभ” अर्थात् दबाव तरङ्गका कारण भवनमा केही क्षति पुगेको तर अमेरिकी कर्मचारीहरूलाई कुनै चोट नलागेको बताए। उनले ‘आश्रय लिने’ आदेश अझै लागू रहेकाले इजरायलमा रहेको अमेरिकी दूतावास सोमबार पनि बन्द रहने जानकारी दिए।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाए अनुसार, चार दिनको द्वन्द्वका क्रममा इरानले इजरायलमा ३७० ब्यालिस्टिक मिसाइल (प्राक्षेपिक क्षेप्यास्त्र) र सयौं मानव रहित यान (ड्रोन) प्रहार गरेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, शुक्रबार द्वन्द्व सुरु भएदेखि सोमबार बिहानसम्म इजरायलमा २४ जनाको मृत्यु भएको छ भने ५९२ जना घाइते भएका छन्, जसमध्ये १० जनाको अवस्था गम्भीर छ।

यी प्रक्षेपणहरूले इजरायलका ३० स्थानमा सफलतापूर्वक प्रहार गरेका छन्। इरानी सरकारी सञ्चारमाध्यमले आइतबार जनाएअनुसार, इरानमा शुक्रबारदेखि हालसम्म कम्तीमा २२४ जनाको मृत्यु भएको छ। तर अर्को मानव अधिकार निजी सँस्थाले जनाए अनुसार इरानमा ४०० भन्दा ज्यादाको ज्यान गएको एपीले उल्लेख गरेको छ ।

इजरायलको राष्ट्रिय आपतकालीन सेवा मागेन डेभिड एदोमका अनुसार, उत्तरी इजरायली सहर हाइफामा इरानको रातभरिको क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु भएको छ। यसले रातभरको आक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ – मध्य इजरायली शहर बनेइ ब्राकमा एक जना र पेताह टिकभामा चार जनाको मृत्यु भएको छ।

इरान र इजरायलका वरिष्ठ अधिकारीहरूले आ-आफ्नो देशमा भएका पछिल्लो घातक आक्रमणबारे प्रतिक्रिया दिएका छन्।

इरानी क्षेप्यास्त्रको घातक आक्रमणपछि जसमध्ये केही आवासीय भवनहरूमा पनि प्रहार भएको थियो, इजरायलका रक्षा मन्त्री इजरायल काट्जले आफ्नो आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक संजाल एक्समा यस्तो लेखेक छन् “तेहरानको अहंकारी तानाशाह एक कायर हत्यारा बनेको छ। तेहरानका बासिन्दाले मूल्य चुकाउनेछन्, र छिट्टै।”

राष्ट्रपति मसुद पेजेश्कियनले एकताको लागि आह्वान गर्दै आफ्नो देशको आणविक कार्यक्रमको बचाउ गरेका छन्। “इरानका जनताले एकताबद्ध भई हामीमाथि गरिएको आक्रमणविरुद्ध दृढतापूर्वक उभिनुपर्छ,” पेजेश्कियनले भने, “इरान आक्रामक होइन।”

प्रतिक्रिया