अमेरिकी प्रतिनिधि सभा सदस्य लामोनिका मकाइभरमाथि न्यु जर्सीको आप्रवासन केन्द्रबाहिर भएको झडपमा संघीय कानून कार्यान्वयनमा बाधा पुर्याएको आरोपमा सङ्घीय अभियोग लगाइएको छ।
कार्यवाहक अमेरिकी अमेरिकी सरकारी वकिल एलीना हाब्बाले मंगलबार सामाजिक संजाल एक्स मार्फत निर्णायक मण्डल (ग्रान्ड जुरी)द्वारा आरोपपत्र जारी भएको घोषणा गरिन्।
“कुनै पनि नीतिको विपक्षमा बोल्न पाउने स्वतन्त्रता भए पनि त्यो अभिव्यक्ति कानून कार्यान्वयन र समुदायको सुरक्षामा जोखिम निम्त्याउने गरी हुनु हुँदैन,” हाब्बाले भनिन्।
मकाइभरलाई गत मे ९ मा न्यूजर्सीको नेवार्कस्थित डिलानी हल भन्ने निजी आप्रवासन केन्द्रमा भ्रमणको क्रममा दुई वटा आक्रमण सम्बन्धी आरोप लगाइएको थियो। सोही दिन नेवार्कका नगर प्रमुख रस बाराका पनि पक्राउ परेका थिए।
डेमोक्र्याट सांसद मकाईभरले आफूमाथिको आरोपलाई “राजनीतिक प्रतिशोध” भन्दै अस्वीकार गरेकी छन्। उनका कानुनी प्रतिनिधि तथा पूर्व अमेरिकी अटर्नी पल फिशम्यानले भने, “यो मुद्दाले समर्पित जनप्रतिनिधिलाई आफ्नो निगरानी भूमिका निभाएकोमा सस्तो बदला लिन खोजिएको देखिन्छ।”
हाब्बाका अनुसार दुई आरोपले अधिकतम ८ वर्षसम्म कैद सजाय र तेस्रो आरोपले एक वर्षसम्मको सजाय हुन सक्छ।
अमेरिकी गृह सुरक्षा विभागले सार्वजनिक गरेको श्रब्यदृश्य (भिडियो)मा मकाइभर प्रहरीसँग भिडभाडको अवस्थामा देखिन्छिन्। श्रब्यदृश्य (भिडियो)मा उनको कुहिनो एक अधिकारीमा लागेको देखिए पनि त्यो जानाजानी हो कि भीडको धक्कामुक्काको कारण भएको हो भन्ने स्पष्ट नभएको एपीले जनाएको छ ।
यो मुद्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति कडाइ अभियानसँग जोडिएको छ । न्यु जर्सीका डेमोक्र्याट नेताहरू विरुद्ध ट्रम्प प्रशासनको कानुनी कारवाहीको पछिल्लो कडी बनेको छ।
प्रतिक्रिया