सगरमाथा आरोहण गर्ने पहिलो नेपाल प्रहरी अधिकारीलाई अमेरिकामा सम्मान

इनेप्लिज २०८२ जेठ २१ गते २२:३० मा प्रकाशित

न्युयोर्क, जेठ २० – अमेरिकाको न्यूयोर्कस्थित अल्पाइन स्पोर्ट्स एसोसिएसनले अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष समारोहको आयोजना गरी नेपाल प्रहरीका वरिष्ठ प्रहरी निरीक्षक तथा पर्वतारोही पुर्सोत्तम नेपालीलाई मानार्थ सदस्यता प्रदान गरेको छ।

सो अवसरमा २०८० साल जेठ ३० गते (सन् २०२३ मे १३) का दिन सफलतापूर्वक सगरमाथा आरोहण गर्नुभएका नेपालीको साहसिक योगदानको उच्च मूल्याङ्कन गर्दै संस्था अध्यक्ष ङवाङ शेर्पा र महासचिव सञ्जोक आचार्यले संयुक्त रूपमा मानार्थ सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

नेपाल प्रहरीबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने पर्वतारोहीका रूपमा चिनिनुभएका नेपालीको आफ्नो अनुभव साथै पर्वतारोहणको जोखिम, चुनौती र त्यसमा प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायका युवा उद्यमी, पर्वतारोहणप्रेमी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही अवसरमा आयोजित अन्तरक्रियात्मक सत्रमा सहभागीहरूको जिज्ञासामा प्रेरणादायी उत्तर दिँदै श्नेपालीले नेपाली कला, संस्कृति, पर्यटन र पहिचानको प्रवर्द्धनमा पर्वतारोहणको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

उक्त सम्मानले नेपाली समुदायको गौरव बढाउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्वतारोहण इतिहास र साहसिक योगदानको सन्देश फैलाउने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

प्रतिक्रिया