शान्ति वार्ताको केही घण्टामै रुसको बर्बर आक्रमण: युक्रेनमा ७ को मृत्यु, २७ घाइते

इनेप्लिज २०८२ जेठ २१ गते १०:०१ मा प्रकाशित

शान्ति वार्ताको केही घण्टामै रूसले युक्रेनका विभिन्न सहरमा गरिएको भीषण हवाई आक्रमणमा कम्तीमा ७ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्। राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले उक्त आक्रमणलाई “बर्बर र नागरिकलाई लक्षित” भनेका छन्।

युक्रेनी हवाई सेनाका अनुसार सोमबार राति रूसले ११२ वटा मानव रहित यान (ड्रोन )प्रक्षेपण गरेकोमा ७५ वटा नष्ट गरिएको थियो। युक्रेनका ११ स्थानमा विस्फोट भएको पुष्टि गरिएको छ।

पूर्वोत्तरका सीमावर्ती क्षेत्रहरूमा सबैभन्दा बढी क्षति पुगेको छ। सुमी शहरमा क्लस्टर क्षेप्यास्त्र आक्रमणमा ३ जनाको मृत्यु र २० जना घाइते भएका छन्। व्यस्त सडकमा र बिहानको समय भएकोले धेरै नागरिक प्रभावित भएका थिए।

खार्किभ क्षेत्रमा गोलाबारीका कारण थप ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन्। दक्षिणी खेरसोनमा १ को मृत्यु र १३ घाइते भएको पुष्टि गरिएको छ। चेरनिहिभ र ओडेसा शहरहरूमा समेत पाँच–पाँच जना घाइते भएका छन्।

जेलेन्स्कीले स्पष्ट रूपमा भने, “पुटिनले शान्तिमा कुनै चासो देखाएका छैनन्। अमेरिकी र युरोपेली निर्णायक दबाबबिना युद्ध रोकिनेछैन।”

सोमबार इस्तानबुलमा भएको दोस्रो चरणको प्रत्यक्ष वार्ताका बाबजुद रूसले युक्रेनी सहरहरूमा निरन्तर हमला गरिरहेको छ। युक्रेनले पनि रूसी भूमिमा अहिले सम्म कै सर्वाधिक ठूलो आक्रमण गरेर जवाफ दिएको छ।

जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पबाट शक्तिशाली प्रतिबन्ध र युद्ध रोक्न दबाब दिन आग्रह गरेका छन्।

प्रतिक्रिया