अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानसँग भइरहेको परमाणु सम्झौताका वार्ता नबिगार्न चेतावनी दिएका छन्। बुधबार ओभल अफिस(कार्यालय)मा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “मैले उनलाई भनें—अहिले कुनै अवरोध गर्नु उपयुक्त हुँदैन, किनभने हामी समाधानको निकै नजिक छौं।”
ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने सम्भावना अझै बलियो रहेको स्पष्ट रूपमा बताए । “यो कुरा कुनैपनि बेलामा बदलिन सक्छ, एउटा दूरवार्ता(फोन कल)ले पनि सबै उल्टिन सक्छ,” उनले भने, “तर अहिलेको अवस्था हेर्दा, मलाई लाग्छ उनीहरू सम्झौता गर्न चाहन्छन्। यदि हामी सम्झौता गर्न सफल भयौं भने, अनावश्यक हिंसा टार्न सकिन्छ र धेरै मानिसको ज्यान जोगिन्छ।”
इरानसँगको परमाणु सम्झौताको सन्दर्भमा ट्रम्प आशावादी देखिए। उनले भने, “हामी अहिले इरानसँग निकै राम्रो अवस्थामा छौं। मलाई लाग्छ, केही युक्तिपूर्ण निष्कर्ष आउँनेछ। दुईवटा मात्र विकल्प छन्—गतिशील समाधान वा हिंसात्मक परिणाम। मलाई लाग्दैन कसैले दोस्रो चाहन्छ। हामीले ठूलो प्रगति गरिसकेका छौं, र अब अन्तिम दस्तावेजमा सहमति हुन बाँकी छ।”
ट्रम्पको भनाईमा सम्झौता सफल भए इरानका लागि पनि यो “एक ठूलो अवसर” हुनेछ।
प्रतिक्रिया