नेपालमा नै अन्तरिक्ष क्षेत्रमा ठूलो सफलता प्राप्त गर्ने युवा बैज्ञानिक मोहन तामाङ

इनेप्लिज २०८२ जेठ १४ गते ११:२० मा प्रकाशित

२०१४ मा १५ वर्षको उमेरमा नै नेपालमा एक रकेट कम्पनी शुरु गर्ने सपना देखेका खोटाङको एक दूर गाउँका मोहन तामाङको बाल्यकाल खेल्नमा मात्र नभएर हरेक कुराले कसरी काम गर्छ भन्ने सोच्नेमा पनि बित्यो । राजधानी बसाइँ सरेपछि सामना गरिने प्रत्येक उपकरणमाथि उब्जने जिज्ञासाले उनीमा प्रविधिप्रतिको आकर्षणको बीउ रोप्यो । विद्यालयका दिनहरू केवल पुस्तक र परीक्षामा सीमित नभएर ती साहस र सिकाइका अवसरहरू बने उन्का लागि ।

कक्षा १० मा हुँदा एक राष्ट्रिय रकेट प्रतियोगितामा भाग लिएर शीर्ष स्थान हात पारेका तामाङले जापानमा आयोजित अन्तर्राष्ट्रिय रकेट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर उन्ले १७ देशका विद्यार्थीहरूसँग मोडेल रकेटहरू निर्माण गरेर प्रक्षेपण गरे । नोभेम्बर २०१४ मा जापानले “हयाबुसा II” नामक रोबोटलाई एस्टेरोइड बेल्टमा खानी उत्खनन कार्यमा पठाएको थियो । यस्ले जापान जस्तो विकसित देश र हाम्रो जस्तो विकासशील देशको प्राथमिकतामा ठूलो भडखालो भएको पाए उन्ले र उन्लाई लाग्यो कि नेपालको विकासको लागि पनि अन्तरिक्ष नजिक ल्याउन केही गर्नुपर्छ भन्ने मान्यता अनुरुप नेपालमा विभिन्न कार्यशाला र गतिविधिहरू मार्फत अन्तरिक्षलाई बढावा दिन थाले र यस क्षेत्रमा पनि ठूलो कार्य गर्न चाहे ।


लिभरपुल इन्टरनेशनल कलेजमा माध्यमिक शिक्षाको समयमा विज्ञान र प्रविधिको गहिरो अध्ययन गरेर तामाङले ६ जना विद्यार्थीको टोलीसँग मिलेर एक उपग्रह परियोजना शुरु गरी उपग्रहको एक लघु प्रारूप “क्यान-स्याटेलाइट” (एक पर्यावरणीय उपग्रह) बनाए र यस्ले वातावरणिय डाटा पढेर ग्राउन्ड स्टेशनमा पठाउँथ्यो ।

तामाङले फिलिपिन्स, इन्डोनेसिया र सिङ्गापुरमा अन्तर्राष्ट्रिय मंचहरूमा आफ्ना परियोजनाहरू प्रस्तुत गर्ने अवसर पाए । उन्को टोलीले जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (JAXA) ले आयोजना गरेको प्रतियोगितामा पनि सहभागिता जनायो ।

स्नातक अध्ययनको क्रममा मोहनले नयाँ पुस्तालाई २१औँ शताब्दीका सिपहरू र नवीन सोचलाई सहज पहुँच पुर्याउन STEM/STEAM कार्यक्रम शुरु गरे । यस्को मार्गदर्शकको रूपमा उन्ले विद्यार्थीहरूलाई प्रविधि, कोडिङ, समस्या समाधान र नवीन सोच सिकाउँदै नेपालभरका सामुदायिक विद्यालयदेखि बुढानिलकण्ठ जस्ता संस्थानका १०,००० भन्दा बढी विद्यार्थीहरूलाई समेटे ।

जेफ बेजोस जस्ता व्यक्तिले नेतृत्व गरेको विश्वब्यापी विद्यार्थी संस्था SEDS को नेपाल च्याप्टरको २०२० मा नेतृत्व गरेर यसलाई एक गैर-नाफामूलक संस्थाको रूपमा दर्ता गराए तामाङले र २ वर्षको कार्यकालमा नेपालभर २००० भन्दा बढी सदस्य पुर्याए र ७ भन्दा बढी शाखा खोलेर SEDS नेपाललाई नयाँ उचाइमा पुर्याए । विभिन्न अन्तर्राष्ट्रिय परियोजना र कार्यशालाहरू मार्फत नेपाली विद्यार्थीहरूलाई अन्तरिक्षसँग जोडे उन्ले ।

SEDS नेपाल मार्फत तामाङले ऐतिहासिक परियोजना “गरुड” (नेपालको पहिलो साउन्डिङ रकेट) शुरु गरे जस्ले ३० जना इन्जिनियरहरूको सहभागिता र नेपाली सेना र राष्ट्रिय नवप्रवर्तन केन्द्रको सहयोगमा नेपालमा पहिलो पटक रकेट निर्माण र प्रक्षेपण गर्ने ऐतिहासिक काम गर्‍यो २० मार्च २०२१ मा धनुषाको धरानीमा जस्ले अमेरिकामा आयोजित विश्वको सबैभन्दा ठूलो रकेट इन्जिनियरिङ प्रतियोगिता Spaceport America Cup 2021 मा सहभागिता जनाइ Nancy Squires Award जित्यो ।

पहिलो रकेट प्रक्षेपणपछि तामाङ महावीर पुनको राष्ट्रिय नवप्रवर्तन केन्द्रमा “स्पेस सिस्टम्स” को प्रोजेक्ट लिडको रूपमा सामेल भएर नेपाली सेना र टोकियो विश्वविद्यालय जस्ता संस्थाहरूसँग सहकार्य गरेर विभिन्न रकेट उपप्रणालीहरूमा काम गरे । राष्ट्रिय नवप्रवर्तन केन्द्रमा ३ वर्षको अवधिमा उन्को टोलीले १० किलोमिटरसम्म १५ वटा रकेटहरू प्रक्षेपण गर्यो ।

२०२४ मा तामाङले नेपालमा ” Mach24 Orbitals ” दर्ता गराए । एक संस्थापक, CEO र CTO को रूपमा उनी अहिले सानो उपग्रह प्रक्षेपण उद्योगमा क्रान्ति ल्याउने उद्धेस्यमा केन्द्रित छन । यस्को मिशन भनेको हाइब्रिड प्रोपल्सन प्रविधि प्रयोग मार्फत ५०० किलोग्रामसम्मको पेलोडलाई सस्तोमा लो अर्थ अर्बिट (LEO) मा पुग्न उपलब्ध गराउनु हो जसले लिक्विड अक्सिजन र मम (candle wax) प्रयोग गर्नेछ । यो नेपालको पहिलो रकेट स्टार्टअप हो, जसले सानो उपग्रहको बजारमा प्रवेश मार्फत अन्तरिक्षलाई सर्ब सुलभ बनाउने छ ।

म्याक२४ अर्बिटल्सले विश्वको सबैभन्दा ठूलो स्टार्टअप प्रदर्शनी स्टार्टअप महाकुम्भ २०२५ मा सहभागिता जनाएर आफ्नो हाइब्रिड रकेट डेमोन्स्ट्रेटर प्रदर्शन मार्फत नेपालको पहिलो निजी लान्च भेहिकल कम्पनीको रूपमा “Making Space Accessible to All” को दृष्टिकोणले ठूलो ध्यान आकर्षित गर्यो र आफ्ना प्रविधिक उपलब्धिहरू साझा गर्यो । म्याक२४ अर्बिटल्सको प्याभिलियनमा भारतका उद्योग तथा आपूर्ति मन्त्री पियुष गोयल, IN-SPACE का निर्देशकहरू र नेपालका राजदूत शंकर शर्मा जस्ता व्यक्तिहरूले सहभागिता जनाए । त्यस्मा म्याक२४ अर्बिटल्सले नेपालको वैश्विक अन्तरिक्ष प्रविधि क्षेत्रमा उदयको संकेत दिलायो ।

म्याक२४ अर्बिटल्सले २०२९ सम्म नवप्रवर्तन र अन्वेषणलाई प्रोत्साहन दिन अन्तर्राष्ट्रिय सहकार्यहरू बढाउँदै नेपालको पहिलो निजी ओर्बिटल-क्लास रकेट प्रक्षेपण गर्ने महत्त्वाकांक्षी लक्ष्र लिएको छ ।

म्याक२४ अर्बिटल्सले हाइब्रिड इन्जिनको अनुसन्धान र विकासलाई बढावा दिने अभिप्रायले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, अन्तरिक्ष विभागसँग LOA (Letter of Agreement) मा हस्ताक्षर गरिसकेको छ भने नेपालको पहिलो हाइब्रिड रकेट इन्जिन डिजाइन गरेर परिक्षण पनी गरिसकेकोछ ।

The International Astronautical Federation (IAF) द्धारा आव्हान गरिएको यस्को 2025 Emerging Space Leaders Grant Programme मा सहभागी हुन विस्वभरीबाट २५० भन्दा बढीले आवेदन दिएकोमा 29 September – 3 October 2025 मा सिड्नीमा हुन गैराखेको उक्त कार्यक्रममा सहभागी हुने ३० जनामा तामाङ पनि छनिएका छन । देशका तर्फबाट कुनै पनि सहयोग र प्रोत्साहन बेगर नै प्राप्त गरेका यी सबै उल्लेखनिय सफलताका लागि उनी नेपाली जनाताका तर्फबाट बधाइका पात्र छन ।

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको फेसबुक पेज @Ramkshrestha

प्रतिक्रिया