बेलायतमा लिभरपुल फुटवल क्लबको प्रिमियर लिग अर्थात् इङ्ग्ल्यान्डको शीर्ष तहको व्यावसायिक भकुण्डो प्रतियोगिताको जीतको खुसीमा आयोजित परेडको दौरान गम्भीर दुर्घटना भएको छ।
भीडमा गाडी पसेर ठक्कर दिँदा त्रास फैलिएको छ। बेलायतको मर्सीसाइड प्रहरीले घटनापछि एक पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार स्थानीय समय अनुसार साँझ ६ बजे तिर लिभरपुल शहरको केन्द्रमा एक गाडीले केही पैदल यात्रुहरूलाई ठक्कर दिएको खबर प्राप्त भएको थियो। “गाडी घटनास्थलमै रोकिएको थियो र एक पुरुषलाई नियन्त्रणमा लिइएको छ,” प्रहरीको वक्तव्यमा उल्लेख गरेको छ।
सामाजिक सञ्जालमा साझा गरिएका श्रब्यदृश्य *(भिडियो)हरूमा सडकमा खुशीयाली मनाइरहेका समर्थकहरूबीच गाडी पसिरहेको देखिन्छ। रोयटर्स समाचार संस्थाले प्रकाशित गरेको श्रब्यदृश्यमा आपतकालीन सेवाका कर्मचारीहरू घाइतेलाई रुग्णवाहिणी (एम्बुलेन्स)मा हालिरहेको देखिन्छ।
घटनास्थलका तस्वीरहरूमा सडक वरिपरि फोहोर र सामानहरु यत्रतत्र छरिएको देखिएका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ।
ब्रिटेनका प्रधानमन्त्री केयर स्टारमर र गृहमन्त्री याभेट कुपरलाई घटनाबारे नियमित जानकारी दिइएको बताइएको छ।
नर्थ वेस्ट एम्बुलेन्स सेवाले लिभरपुल शहरको केन्द्रमा सवारी दुर्घटनाको खबर पछि आपतकालीन प्रतिक्रिया दिइरहेको जनाएको छ। “हामी अहिले घटनाको मूल्यांकन गर्दैछौं र अन्य आपतकालीन सेवाहरूसँग सहकार्य गरिरहेका छौं,” विज्ञप्तिमा भनिएको छ। “हाम्रो प्राथमिकता घाइतेहरूलाई चाँडो भन्दा चाँडो उपचारमा पुर्याउनु हो।”
प्रतिक्रिया