ट्रम्पको चेतावनी: “एप्पल अमेरिका मै नबने शुल्क लाग्ने, स्यामसुङ पनि जोगिँदैन”

इनेप्लिज २०८२ जेठ ११ गते ०:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर आईफोन मोबाइल ( भ्रमणध्वनि) निर्माण गरेमा आयात शुल्क (टारिफ) लगाउने धम्की दिएपछि अहिले बहस चर्किएको छ। एक पत्रकारले यसबारे प्रश्न गर्दा राष्ट्रपति ट्रम्पले यो एप्पलमा मात्र सीमित नहुने बताए।

“यो एप्पल मात्र होइन, स्यामसुङ र त्यस्तो उत्पादन बनाउने जुनसुकै प्रतिष्ठानमाथि पनि लागु हुन्छ, नत्र यो न्यायसंगत हुँदैन,” ट्रम्पले स्पष्ट पारे।

तर उनले प्रतिष्ठानहरूमा शुल्क लगाउने कानुनी आधारबारे सोधिएको प्रश्नलाई भने जवाफ दिएनन्। पत्रकारहरूले एप्पलले अमेरिका भित्र उत्पादन गर्ने कुनै योजना नराखेको भनेर आएको आलोचनाबारे सोध्दा ट्रम्पले त्यसलाई समेत सामान्य ढंगले बेवास्ता गरे।

“धेरै काम अहिले कम्प्युटराइज्ड अर्थात् संगणकिकृत भइसकेको छ,” ट्रम्पले भने। “अबका कारखानाहरू अद्भुत छन। उनीहरूले चाहे भने अमेरिका मै उत्पादन गर्न सक्छन्।”

ट्रम्पको यस्तो टिप्पणीले अन्तर्राष्ट्रिय व्यापार र प्रविधि उद्योगमा नयाँ बहस सुरु भएको छ, जहाँ विदेशी उत्पादनमा निर्भर ठूला प्रतिष्ठानहरू अमेरिकी शुल्कको मारमा पर्न सक्ने जोखिम बढेको देखिन्छ।

प्रतिक्रिया