“मानवता विरुद्धको पक्षमा उभिएका छन्” – नेतान्याहूद्वारा बेलायती प्रधानमन्त्री स्टारमरमाथि आक्रोश, हमासको पक्षपोषण गरेको आरोप

इनेप्लिज २०८२ जेठ १० गते ११:१२ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बेलायती प्रधानमन्त्री सर केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीमाथि कडा आरोप लगाउँदै भने उनीहरूले “प्रभावकारी रूपमा हमासलाई सत्तामा रहन दिन चाहेका छन्।”

नेतान्याहूले उनीहरूलाई “हत्यारा, बलात्कारी, बालहत्यारा र अपहरणकारीहरूको पक्षमा उभिएका” भन्दै आक्रोश पोखेका हुन्।

यो वक्तव्य वाशिंगटनस्थित इजरायली दूतावासमा भएको आक्रमणपछि आएको हो, जहाँ दुई कर्मचारी मारिएका थिए। हमलाकारीले “स्वतन्त्र प्यालेस्टाइन” भन्दै नाराबाजी गरेका थिए। यसअघि बेलायत, फ्रान्स र क्यानडाले गाजामा इजरायलको सैन्य कारबाहीलाई “अत्यधिक” भन्दै निन्दा गरेका थिए।

स्टारमरले आक्रमणको आलोचना गर्दै यहूदी विरोधलाई “पूर्ण रूपमा अन्त्य गर्नुपर्ने दानव” भनेका थिए। तर नेतान्याहूले उक्त तीन नेताहरूको आलोचनालाई “इतिहास, मानवता र न्यायको गलत पक्षमा उभिएको” भनी टिप्पणी गरेका छन्।

नेतान्याहूले भने, “जब बालहत्यारा र अपहरणकारीहरूले तपाईलाई धन्यवाद दिन्छन्, तब तपाईहरु गलत पक्षमा हुनुहुन्छ।” इजरायली मन्त्री अमीचाई चिकलीले समेत यी नेताहरूले “आतङ्कवादलाई हौसला दिएको” आरोप लगाएका छन्।

बेलायती रक्षा मन्त्री लुक पोलार्डले नेतान्याहूको टिप्पणी अस्वीकार गर्दै भने, “हामी इजरायलको आत्मरक्षाको अधिकारको समर्थन गर्छौं, तर अन्तर्राष्ट्रिय मानवीय कानुनभित्र मात्र।”

यसैबीच, गाजामा प्रवेश गर्ने राहत सामग्री अझै अत्यन्तै न्यून रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। ११ हप्ताको नाकाबन्दीपछि मानवीय संकट गहिरिँदै गएको छ।

प्रतिक्रिया