अन्ततः धेरै दिनसम्मको बहस र आन्तरिक विवादपछि रिपब्लिकन बहुमत भएको अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा आप्रवासन एजेन्डा अघि बढाउने विधेयक पारित गरेको छ । त्यो पनि केवल १ मतको झिनो अन्तरले पारित भएको छ । आज मतदान हुँदा २१५-२१४ ले पारित भएको हो ।
वान बिग ब्युटीफुल एक्ट नामको यो ऐतिहासिक विधेयकले ट्रम्पको घरेलु कार्यसूची रहेका कर कटौती, मेडिकेड सुधार र आप्रवासन खर्च वृद्धि जस्ता मुद्दाहरूलाई सम्बोधन गर्छ।
सभामुख माइक जोनसनका अनुसार, यो विधेयक मेमोरियल डे अघि पारित गर्ने उनको वाचा पुरा भएको हो। रातभर चलिरहेको बहसपछिको यो मतदान, रिपब्लिकन दलको आन्तरिक विभाजनबीच पनि उपलब्धिपूर्ण विजय बनेको छ।
जोनसनले मतदानअघि सम्बोधन गर्दै भने: अब अमेरिका फेरि जित्न थालेको छ — लामो समयपछि उज्यालो बिहानी आएको हो!”
यो विधेयक अगाडि बढाउन गत बुधबार राष्ट्रपति ट्रम्पले स्वयं सभामुख जोनसन र ककसका सदस्यहरूसँग बैठक गरेका थिए। यद्यपि, यो विधेयक अब सिनेटबाट पारित हुनुपर्ने अर्को ठूलो चुनौती बाँकी छ जहाँ रिपब्लिकन सिनेटरहरूले अझै संशोधनको संकेत दिएका छन्।
ट्रम्पको प्रमुख नीति विधेयक एक कदम अगाडि बढेको छ, तर अन्तिम विजय पक्का हुन अझै संघर्ष बाँकी छ।
प्रतिक्रिया