आइसिइले पिता बनेका खलिललाई आफ्नै नवजात शिशु अँगाल्नसमेत दिएन, पत्नी र अमेरिकी नागरिक स्वतन्त्ता संघ( एसिएलयु)को आक्रोश

इनेप्लिज २०८२ जेठ ९ गते १:३६ मा प्रकाशित

अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइसिइI) र जेल ठेकेदार जिइओ ग्रुपले महमुद खलिललाई आफ्नै नवजात छोरोलाई अँगाल्नसमेत अस्वीकार गरेको छ।

अमेरिकन सिभिल लिबर्टिज युनियन अर्थात् अमेरिकी नागरिक स्वतन्त्ता संघले बुधबार उक्त कुरा जनाएको छ। खलिल एक जना प्यालेस्टिनी अधिकारकर्मी र कोलम्बिया विश्वविद्यालयका स्नातक विद्यार्थी हुन्, जो हाल लुजियानाको आइसिइ हिरासतमा छन्।

उनकी पत्नी नूर अब्दल्लाले भनिन्, “हामी हजारौ माइल टाढाबाट नवजात छोरालाई लिएर यहाँ आइपुग्यौं, उसको यो पहिलो उडान थियो – उसले आफ्नो बाबुको अँगालो पाओस् । तर आइसिइले हामीलाई यो सबैभन्दा आधारभूत मानव अधिकारसमेत नदिएर अमानवीयता मात्र होइन, परिवारलाई निर्दयी रूपमा टुक्र्याउने सरकारी क्रूरता देखाएको छ।”

अमेरिकी नागरिक स्वतन्त्ता संघका अनुसार, खलिलका कानुनी टोलीले पटक पटक सम्पर्क भेटको लागि आवेदन दिएका थिए, तर अधिकारीहरूले “सुरक्षाको चिन्ता” र सिएलआइपिसिमा लागू गरिएको भेटघाट नदिने नीति देखाउँदै अस्वीकार गरे ।

३० वर्षीय खलिल जसले स्थायी आवासीय पत्र (ग्रीन कार्ड )पाएका छन्। मार्चको सुरुमा न्युयोर्कस्थित आफ्नै कोलम्बिया-स्वामित्वको आवासगृहबाट पक्राउ परेका थिए। उनी गाजामाथिको युद्ध विरोधी विश्वविद्यालय प्रदर्शनमा अग्रपंक्तिमा थिए।

ट्रम्प प्रशासनले खलिललाई “हमास समर्थक गतिविधिमा संलग्न” भएको आरोप लगाउँदै उनलाई एउटा दुर्लभ आप्रवासन कानून प्रयोग गरी देश निकाला गर्न खोजेको छ, यद्यपि ठोस प्रमाण पेश गरिएको छैन। उनका वकिलहरूले यो आरोपको खण्डन गर्दै खलिलको हिरासतलाई गैरकानुनी भनेका छन्।

अदालतले खलिलको निर्वासनलाई अघि बढ्न दिने आदेश दिएको छ, र प्रशासनले उनी अमेरिकी परराष्ट्र नीतिमा “नकारात्मक असर” पार्ने दाबी गरेको छ। यो मुद्दाले विद्यार्थीहरूको अभिव्यक्ति स्वतन्त्रता र कानुनी अधिकारसम्बन्धी गम्भीर बहस उत्पन्न गरेको छ।

प्रतिक्रिया