रूसी क्षेप्यास्त्र आक्रमणमा युक्रेनका ६ सैनिकको मृत्यु, दर्जनभन्दा बढी घाइते

इनेप्लिज २०८२ जेठ ८ गते १०:५९ मा प्रकाशित

युक्रेनको सुमी क्षेत्रमा रूसी क्षेप्यास्त्र (मिसाइल )आक्रमणले कम्तीमा छ युक्रेनी सैनिकको ज्यान लिएको छ भने १० भन्दा बढी घाइते भएका छन्। युक्रेनको राष्ट्रिय सुरक्षा बलका अनुसार आक्रमण बन्दुक चलाउने अभ्यासका क्रममा भएको हो।

यसअघि रूसी रक्षा मन्त्रालयले इस्कान्दर क्षेप्यास्त्रबाट गरिएको हमलाको श्रब्यदृश्य (भिडियो)सार्वजनिक गरेको थियो, जसमा दर्जनौ सैनिकहरू जंगलनजिक हिँडिरहेका बेला एक विस्फोट भएको देखिन्छ। रूसी सरकारी समाचार संस्था टासले ७० जनासम्मको मृत्यु भएको दाबी गरेको छ, यद्यपि यो पुष्टि हुन बाँकी छ।

बिबिसीका अनुसार सुमी क्षेत्र लामो समयदेखि रूसी हमलाको चपेटामा रहँदै आएको छ। युक्रेनी सेनाले सुमी सुरक्षाका लागि छिमेकी कर्स्क क्षेत्रमा अस्थायी रुपमा कब्जा जमाएको थियो। यद्यपि धेरैले सैनिक क्षति अत्यधिक भएको भन्दै आलोचना गरिरहेका छन्।

युक्रेनी राष्ट्रिय सुरक्षा बलले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ भने संबन्धित सेनापतिलाई निलम्बन गरिएको छ। संगठनले पहिल्यैबाट हवाई आक्रमणको जोखिमसँग जुध्न कार्य योजनातयार गरिएको भए पनि सैनिकहरू एउटै ठाउँमा जम्मा हुनुले रणनीतिक कमजोरी देखिएको छ।

यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिले यूक्रेनी सेनालाई पछाडि हटाइएपछि कर्स्कको पहिलो भ्रमण गरेका छन्। उनले स्थानीय स्वयंसेवक र कार्यवाहक गभर्नरसँग भेट गरे र एक आणविक ऊर्जा केन्द्रको अवलोकन गरे।

यो आक्रमण युक्रेनी सेनाका लागि गम्भीर मनोबल गिरावटको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया