संघीय अभियोजनकर्ताहरूले डेमोक्र्याटिक सांसद लामोनिका म्याकआइभरलाई अमेरिकी गृह सुरक्षा बिभाग (होमल्याण्ड सेक्युरिटी)को एक अधिकारीमाथि आक्रमण गरेको अभियोगमा मुद्दा चलाएका छन्।
यो घटना न्यू जर्सीस्थित एक आइसिइ (आप्रवासन तथा भन्सार प्रवर्तन विभाग) थुनुवा केन्द्र बाहिर प्रदर्शनका क्रममा भएको थियो। अमेरिकी अधिवक्ता एलीना हब्बाले सोमबार सार्वजनिक वक्तव्यमार्फत जानकारी दिइन्।
त्यसैबीच, झडपका क्रममा पक्राउ परेका नेवार्कका नगर प्रमुख (मेयर )रस बाराका विरुद्धको संघीय अतिक्रमण मुद्दा भने खारेज गरिने भएको छ।
उक्त झडपमा प्रदर्शनकारी, जनप्रतिनिधि र गृह सेक्युरिटी अधिकारीहरू एक अर्का विरुद्ध धकेलमुक्का गर्दै भिडेका थिए। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति विरुद्ध डेमोक्र्याट नेताहरूको आन्दोलनलाई नयाँ कानुनी मोड दिएको छ । एउटी संघीय सांसदमाथि आपराधिक अभियोग लगाइएको हो।
“कुनै पनि व्यक्ति कानूनभन्दा माथि हुँदैन — चाहे राजनीतिज्ञ होस् वा अरू,” अधिवक्ता हब्बाले भनिन्, “हाम्रो कार्यालयले निष्पक्ष रूपमा न्यायको रक्षा गर्ने जिम्मेवारी लिन्छ।”
तर सांसद म्याकआइभरले आफूविरुद्ध लगाइएको अभियोग “राजनीतिक प्रेरित” भएको बताएकी छन्। उनले एक विज्ञप्तिमा भनिन्, “यी अभियोगहरूले मेरो कार्यलाई विकृत र गलत रूपमा प्रस्तुत गर्छन्। यो कानुनी निरीक्षणको डर देखाएर जनप्रतिनिधिहरूलाई रोक्ने प्रयास हो।”
यो घटनाले अमेरिका भित्र आप्रवासन नीति र लोकतान्त्रिक प्रतिरोधबीचको द्वन्द्व अझ चर्किँदै गएको देखाउँछ।
प्रतिक्रिया