इजरायलले गाजा भूभागमा रातभरि गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १०३ जना मारिएका छन् । जसमा १८ बालबालिका र १३ महिला परेका छन्। युद्धको १९ महिना सम्म चलिरहेको परिस्थितिमा आक्रमण झनै तीव्र बनेको छ।
खान युनिस वरिपरिका क्षेत्रमा मात्रै ४८ जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ। यता जबलिया शरणार्थी शिविरमा गरिएको आक्रमणमा एउटै परिवारका ९ जना मारिएका छन् । अर्को घरमा १० जनाको ज्यान गयो, जसमा ७ बालबालिका र एक महिला थिए।
उत्तर गाजाको मुख्य इन्डोनेसियन अस्पताल भारी गोलीबारी र इजरायली घेराबन्दीका कारण बन्द गरिएको छ। यसअघि कमाल अदवान र बैत हनुन अस्पताल पनि बन्द गरिनु परेको छ ।
इजरायली सेनाले भने आफ्नो सैनिकहरू “आतंकवादी संरचनाविरुद्ध कार्यरत” रहेको बताएको छ, तर पछिल्ला आक्रमणबारे विस्तृत टिप्पणी गरेको छैन।
यो रक्तपात “गिडियनको रथ” नामक नयाँ सैन्य अभियान अन्तर्गत भएको हो, जसको उद्देश्य गाजामा हमासमाथि दबाव बढाउनु, मानवीय सहायता नियन्त्रण गर्नु, र इजरायली बन्धकहरूको रिहाइ गराउनु हो।
इजरायली प्रधानमन्त्री बेन्जामिननेतान्याहुको कार्यालयका अनुसार दोहामा भइरहेको वार्ता टोलीले बाँकी ५८ बन्धकको रिहाइ, हमासको गाजाबाट निष्कासन र निशस्त्रीकरणका लागि प्रयास गरिरहेको छ।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणपछि अमेरिकी र कतारी मध्यस्थकर्ताहरू पुनः सक्रिय भएका छन्। अमेरिकी विदेशसचिव मार्को रुबियोले भने, “हामी शान्ति, बन्धकको रिहाइ र गाजावासीको सुरक्षित भविष्य सुनिश्चित गर्न कूटनीतिक मार्ग खोजिरहेका छौँ।”
प्रतिक्रिया