गाजा, मे १८ — इजरायली सेनाको आक्रमण तीव्र हुँदै जाँदा गाजा क्षेत्रमा स्थिति भयावह बन्दै गएको छ। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कम्तीमा १५३ जना प्यालेस्टिनी मारिएका छन् । तीमध्ये ७ जनाको शव भग्नावशेषबाट निकालिएको हो। ४५९ जना घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार अझै धेरै शवहरू भग्नावशेषभित्र पुरिएका छन् । सडकमा लासहरू यत्रतत्र छन्, तर लगातारको बमबारीका कारण रुग्णवाहिनी (एम्बुलेन्स) र उद्धार टोलीले तिनीहरूलाई उद्धार गर्न सकेका छैनन्।
मार्च १८ मा इजरायल–हमास दुई महिनाको युद्धविराम अन्त्य भएपछि हालसम्म ३,१३१ भन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन् भने ८,६०० भन्दा बढी घाइते भएका छन्।
एबीसी न्यूजका संवाददाता दिया ओस्ताजले खन युनिसबाट समाचारको विवरण दिदै भने, “स्थिति दिन प्रतिदिन होइन, घण्टा घण्टामा झनै बिग्रँदैछ। उपचारको पहुँच असम्भव जस्तै भएको छ।
बग्दादमा आयोजित अरब लीग सम्मेलनमा बोल्दै महासचिव एन्टोनियो गुटेरेसले इजरायलको थलसेना अभियान विस्तार गर्ने योजनाले आफूलाई गहिरो चिन्तामा पारेको बताए। उनले तुरुन्तै र स्थायी युद्धविरामको अपिल दोहोर्याए।
गुटेरेसले सामाजिक संजालमा लेखे, “गाजामा भइरहेको अवस्था वर्णनभन्दा पर छ — यो क्रूरताभन्दा पनि भयावह र अमानवीय छ। घेराबन्दी र भोकमरीको नीतिले अन्तर्राष्ट्रिय कानुनको अपमान गरिरहेको छ। मानवीय सहायता रोकिनु तुरुन्त अन्त्य हुनुपर्छ।”
इजरायली सेनाका अनुसार गाजामा पछिल्ला व्यापक आक्रमणहरू ‘गिदोनका रथ’ नामक नयाँ सैन्य अभियानको सुरुआती चरण हुन्। मे ५ मा इजरायली सुरक्षा मन्त्रिमण्डलले यो योजना पारित गरेको थियो, जसमा गाजाको अधिकांश जनसंख्यालाई विस्थापित गर्ने र आक्रमणपछि पनि इजरायली सेना गाजामा रहने स्पष्ट योजना छ।
यो संकट अझ गहिरिँदै जान सक्ने संकेत दिइरहेका छन्।
प्रतिक्रिया