विश्व बैंकले करिब १४ वर्षपछि सिरियामा पुनः लगानी र सहयोग सुरु गर्ने घोषणा गरेको छ। साउदी अरब र कतारको आर्थिक सहयोगमा सिरियाले अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) सँगको झन्डै १५.५ मिलियन डलर ( डेढ करोड डलर) ऋण तिरेपछि विश्व बैंकले शुक्रबार यो घोषणा गरेको हो।
आइडिए विशेषगरी न्यून आय भएका राष्ट्रहरूको सहयोग कोष हो, जससँगको बक्यौता सिरियाले चुक्ता गरेपछि अब विश्व बैंकले त्यहाँ आफ्ना गतिविधिहरू पुनः सुरु गर्न पाउने भएको छ।
“वर्षौको द्वन्द्वपछि अब सिरिया पुनर्निर्माण र विकासको बाटोमा छ। हामी त्यहाँका जनताको आवश्यकता सम्बोधन गर्न तयार छौं,” विश्व बैंकको वक्तव्यमा भनिएको छ।
सिरियामा पहिलो चरणमा विश्व बैंकले बिजुली आपूर्तिको सुधार गर्ने परियोजना सुरु गर्दैछ, जुन स्वास्थ्य, शिक्षा, र खानेपानीजस्ता आधारभूत सेवा पुनर्स्थापना गर्न अत्यन्त महत्वपूर्ण मानिएको छ।
विश्व बैंकका अधिकारीहरूका अनुसार यो परियोजना सिरियाको स्थायित्व र दीर्घकालीन आर्थिक वृद्धिलाई टेवा दिने दीर्घकालीन रणनीतिको पहिलो पाइला हो।
प्रतिक्रिया