सिन सिटीमा अविस्मरणीय यात्रा

इनेप्लिज २०८२ जेठ ३ गते २१:२८ मा प्रकाशित

न्यूयोर्क सहरको व्यस्त जीवनशैलीबाट केही दिन विश्राम लिन खोज्दै म पहिलो पटक लस भेगासतर्फ उडान भरेँ। मनोरञ्जनको राजधानी, ‘सिन सिटी’ भनेर चिनिने यो शहरको नाम त धेरैपटक सुनेको थिएँ, तर प्रत्यक्ष अनुभव गर्न पाउनु मेरो लागि एकदमै उत्साहजनक अवसर थियो।

अमेरिकाको मरुभूमि क्षेत्रमा रहेको लस भेगास पुगेपछि मैले एक झिलिमिली बत्तिले सजिएको विलासी स्वीट कोठा बुक गरेँ, जसको लागत करिब अन्दाजी ३ लाख ७५ हजार नेपाली रुपैयाँ पर्यो। त्यो कोठाको झ्यालबाट देखिने रातको दृश्य आफैँमा एक चलचित्रजस्तै लाग्थ्यो—रङ्गीचङ्गी बत्तीहरू, चम्किला सडकहरू, र निरन्तर चलायमान जीवनशैली।

शहरको धडकन जस्तै लाग्ने लस भेगास स्ट्रिप पुग्दा मलाई लाग्यो—सपना देख्न र केही घण्टाका लागि भए पनि ती सपना पुरा गर्न मानिसहरू यहाँ आउँछन्। मैले पनि पहिलोपटक क्यासिनोमा हात हालेँ। चिप्स बोकेर टेबलमा बस्दा मभित्र एक किसिमको उत्साह, डर र जिज्ञासा मिसिएको अनुभव भयो। त्यो वातावरण—जहाँ हाँसो, आशा र पैसाको चमक मिसिएको थियो—मेरो स्मृतिमा सधैंको लागि अंकित रहन्छ।

त्यो साँझ मैले Bellagio Fountain Show हेरेँ—पानी, सङ्गीत र प्रकाशको समिश्रणले सृजना गरिएको त्यो दृश्य साँच्चिकै जादुमय थियो। त्यसपछि Fremont Street पुगेँ, जहाँ ठूला स्क्रिनहरूमा चल्ने बत्ती शो, लाइभ सङ्गीत, स्ट्रीट कलाकारहरूले सजिएको रमाइलो माहोलले मलाई झनै लस भेगासप्रति आकर्षित बनायो।


लस भेगासको स्थापना सन् १९०५ मा भए तापनि यसको वास्तविक पहिचान १९४० पछि मात्र बन्न थाल्यो। सन् १९४६ मा अमेरिकन गैंगस्टर बग्सी सिगेलले ‘फ्लेमिङ्गो होटल’ स्थापना गरेपछि शहरको भाग्य बदलियो। त्यसपछि यहाँ क्यासिनो, लक्जरी होटल, र विश्वस्तरीय शोहरू विस्तार हुँदै गए। आज लस भेगास केवल एक शहर होइन, यो स्वतन्त्रता, रोमाञ्चकता, र साहसिक जीवनशैलीको प्रतीक बनेको छ।

न्यूयोर्क व्यवस्थित, लक्ष्यमुखी र व्यस्त छस लस भेगास रमाइलो, स्वतन्त्र र बेताल हो। यहाँ मानिसहरू घडी हेरेर होइन, दिलको आवाज सुनेर बाँचिरहेका देखिन्छन्।

लस भेगास यात्रा मेरो जीवनको अविस्मरणीय अध्याय बन्यो। यसले मलाई सिकायो—कहिलेकाहीँ रमाइलोका लागि पनि बाँच्नुपर्छ। म लस भेगासलाई “सपना देख्ने र त्यसलाई केही घण्टाका लागि पूरा गर्ने शहर” भन्न चाहन्छु।

यदि तपाईं कहिल्यै आफ्ना सपनाहरूलाई उज्यालो बत्ती र उत्साहित हाँसोभित्र देख्न चाहनुहुन्छ भने, एकचोटि लस भेगासको यात्रा अवश्य गर्नुहोस्।

लेखक: सञ्जोग आचार्य

प्रतिक्रिया