‘उच्च शिक्षासँगै अवसरको खोजीमा विश्व बजारमा पुग्नु नौलो हैन’ शिशिर सिंखडा

इनेप्लिज २०८२ जेठ २ गते २३:२० मा प्रकाशित

१२ कक्षा पास गरेपछि उच्च शिक्षाका लागि विदेश जाने युवाहरुको जमात् बढ्दो छ । मध्यम वर्गदेखि उच्च वर्गका युवाहरुमा विदेश नै गएर अध्ययन गर्ने, करियर बनाउने सोच आउनुको कारण विदेशमा पाईने अवसर मुख्य आधार रहेको क्याम्ब्रिजका संस्थापक प्रबन्ध–निर्देशक शिशिर सिंखडा बताउनु हुन्छ । उच्च शिक्षाका लागि विदेसिने विद्यार्थी मध्ये अधिकांशको रोजाईमा अष्ट्रेलिया र यूके (बेलायत) बनिरहेको उहाँको दावी छ । उच्च शिक्षा हासिल गर्न किन विदेश जाने ? त्यसमाथि अष्ट्रेलिया र यूके नै किन ? १५ वर्षदेखि शैक्षिक परामर्श दिँदै आउनुभएका सिंखडासँग गरिएको कुराकानीको संक्षेपः

१) उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीहरुको अवस्था कस्तो छ ?

केही वर्षयता उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको संख्या बढ्दो छ । खासगरी अष्ट्रेलिया, यूके, क्यानडा, न्यूजलेण्ड जस्ता विकसित देश विद्यार्थीको रोजाईमा छन् । शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार गतवर्ष मात्रै १ लाख १२ हजार बढी विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएकोमा जापानसँगै अष्ट्रेलिया, यूके, क्यानडा जस्ता उत्कृष्ट विश्वविद्यालय र कलेजहरु भएका देशहरु उनीहरुको रोजाईमा परेको छ ।

२) किन नेपाली विद्यार्थीहरु लगातार विदेसिइरहेका हुन् ?

ग्लोवलाइजेसनसँगै विकसित देशका विकासको सिकाई, शैक्षिक तथा व्यवहारिक ज्ञान, व्यक्तिगत जीवन व्यवस्थापन र पढाई सँगसँगै प्राप्त गर्ने आर्थिक उपार्जनको अवसरले विद्यार्थीहरु उच्च शिक्षाका लागि आकर्षित भएका छन् । नेपालको शिक्षा प्रणाली अझै परम्परागत र थ्यौरिटिकल सिस्टममा छ । विदेशको शिक्षा प्रयोगात्मक, जीवनोपयोगी र व्यवसायीक छ । आफुलाई विश्व बजारमा प्रतिष्पर्धा गर्न, अन्तराष्ट्रिय डिग्रीसँगै ज्ञान, सीप र अनुभव प्राप्त गर्न, सहज जीवनशैली, रोजगारीका प्रचुर अवसर प्राप्त गर्ने भएकाले पनि नेपाली विद्यार्थीहरु विदेसिएका हुन्, जसलाई अन्यथा मान्नु पर्दैन ।

३) व्यवहारिक जीवनमा प्रवेश नै नगरेका विद्यार्थीहरु एकै पटक फरक संस्कृति, कानुन र भूगोलमा कसरी अडिन्छन् ?

खासगरी अभिभावकले यो प्रश्न गर्नुहुन्छ । तर, अहिलेको ग्लोवलाइजेसन र आधुनिक समाजमा उच्च शिक्षासँगै अवसरको खोजीमा विश्व बजारमा पुग्नु नौलो हैन । त्यसमाथि, फेसवुक, टिकटक, युट्युव, इन्ष्टाग्राम जस्ता सामाजिक सञ्जालले विश्वलाई हरेक नेपालीको हातहातमा पुर्याई दिएको छ । नेपालमै रहँदै विद्यार्थीहरुले कुनैपनि देशको संस्कृति, कानुन, भूगोल र जीवनशैली बुझिसकेका हुन्छन् । फेरी, एक दशकयता अष्ट्रेलिया, बेलायत, क्यानडा, जापान जस्ता विकसित देशहरुमा लाखौं नेपालीहरु पुगिसकेको र त्यसबाट हाम्रा विद्यार्थीले लाभ लिइरहेको अवस्थामा विदेश जाने विद्यार्थीहरुलाई भाषा, संस्कृति, कानुन र भूगोलकै कारणले समस्या पर्छ भन्ने मलाई लाग्दैन खासगरी, अष्ट्रेलिया यूके जस्ता अति विकसित देशहरुमा ।

४) विद्यार्थीहरुको पहिलो रोजाईमा अष्ट्रेलिया, बेलायत जस्ता देश पर्नुको कारण के हो ?

पहिलो कुरा अष्ट्रेलिया र बेलायतको शिक्षा विश्वव्यापी छ । यी देशमा विश्वकै उत्कृष्ट युनिभर्सिटी र कलेजहरु छन् । संसारकै सबै विषयहरु अध्ययन गर्न सकिन्छ । दोश्रो यी देशहरुमा हाम्रा विद्यार्थीहरुले शैक्षिक, आर्थिक, सामाजिक रुपमा पनि पहुँच राख्छन् । १२ पास गरेर अङग्रेजीको भाषा परीक्षा आइएलटिएस र पिटिईमा राम्रो अंक ल्याएका मध्यमदेखि उच्च आर्थिक क्षमता भएका विद्यार्थीहरुले अष्ट्रेलिया र यूकेका जुनसुकै कलेज र युनिभर्सिटीमा जान सक्छन् । तेश्रो कुरा, अष्ट्रेलिया र यूकेले विदेशी विद्यार्थीहरुका लागि सहज वातावरण बनाएका छन् । अष्ट्रेलियन र यूकेका सरकारले अर्थोपार्जनको महत्वपूर्ण कडीका रुपमा अन्तराष्ट्रिय विद्यार्थीलाई लिएकोले उसले आफ्ना नीति तथा कानुनहरु विदेशी विद्यार्थीमैत्री नै बनाएका छन् । यी देशहरुको रहनसहन, जीवनशैली नेपाली विद्यार्थीका लागि सुहाउँदो छ । अध्ययनसँगै काम गर्ने, छात्रवृत्ति पाउने धेरै आधार भएकाले नेपाली विद्यार्थीहरु अष्ट्रेलिया र यूकेमा अध्ययनका लागि आकर्षित भएका हुन् ।

त्यसो त, यी देशहरुमा क्षमता भएकालाई पढ्न, बस्न, काम गर्न कुनै भूगोल, लिङ्ग, समुदाय र परिवेशले बाधा गर्दैन ।

५) नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा दिने शैक्षिक संस्था छन्, विदेश जानु पर्दैन भन्ने पनि छनि ?

पक्कैपनि, नेपालमा अन्तराष्ट्रियस्तरको शिक्षा हासिल गर्न नसकिने हैन, हाम्रा विद्यार्थीले हासिल गरेको शिक्षा गुणस्तरीय भएकैले उनीहरु विदेशी कलेज र विश्वविद्यालयमा पढ्न योग्य भएकाहुन् । तर, विदेशमा विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्दैगर्दा जुन अनुभव र अवसर पाउँछन् नेपालमा पाईँदैन । विदेशी विश्वविद्यालयहरूले विद्यार्थीको सिकाईकालागि जुन प्रकारको अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र प्राविधिक स्रोतहरू उपलब्ध गराउँदछन् नेपालमा पाउन गाह्रो छ । यसैगरी नेपालका शैक्षिक संस्थाहरूमा सबै विषयका पाठ्यक्रम पनि छैनन् । विदेशी विश्वविद्यालयहरुमा एआई, मसिन लर्निङ, नवीकरणीय ऊर्जाजस्ता विषयहरूमा पाठ्यक्रम र अनुसन्धानका अवसर छ । विदेशमा पढ्दै काम गर्ने तथा अनुभव हासिल गर्ने अवसर छ जुन नेपालमा छैन । त्यससँगै विदेशमा अध्ययन गर्दा विद्यार्थीहरूले विभिन्न संस्कृतिहरूसँग परिचित हुने अवसर पाउँदा उनीहरूको दृष्टिकोण नै फराकिलो बन्दछ । सांस्कृतिक विविधता र नयाँ वातावरणमा बसोबास गर्दा विद्यार्थीहरूको आत्मविश्वास सँगै व्यक्तित्व विकासमा वृद्धि हुन्छ । विदेशी विश्वविद्यालयहरू राजनीति भन्दा बाहिर हुने भएकाले स्थिर शैक्षिक वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।

६) त्यसो त, नेपाली विद्यार्थीहरु समस्यामा परेका घटनाहरु पनि बाहिरिईरहेका छन् यसलाई कसरी मुल्यांकन गर्ने ?

जसरी एउटै आमाको कोखबाट जन्मिएका छोराछोरीहरुको स्वभाव र चरित्र एउटै हुँदैन त्यसरी नै विदेश गएका सबै विद्यार्थीहरु सफल हुन्छन् भन्ने हुँदैन । तर, जो विद्यार्थी आफ्नो भविष्य प्रति प्रतिबद्ध, सजग र इमान्दार छ, जसले मेहनत गर्नसक्छ, आफ्नो तथा आफ्नो अभिभावक प्रति जिम्मेवार बन्छ त्यो सफल हुन्छ । तपाईले भन्नु भएजस्तै कहिले काँही विद्यार्थीहरु समस्यामा पर्नुको कारण विद्यार्थी मात्र जिम्मेवार हो जस्तो मलाई लाग्दैन ।

७) कसका कारण नेपाली विद्यार्थीले विदेशी भूमीमा दुखः पाइरहेका छन् ?

यसका दुई तीनवटा कारण देख्छु म । पहिलो विद्यार्थीको शैक्षिक योग्यता, आर्थिक क्षमता दोश्रो शैक्षिक परामर्श दाताको परामर्श र तेश्रो अभिभावक ।

विद्यार्थीले जुन विषय लिएर १२ पास गरेको हुन्छ सोही विषयमा सम्बन्धीत रहेर पढ्न नजाँदा समस्यामा पर्छ । उ अष्ट्रेलिया, बेलायत, अमेरिका प्रवेश त गर्छ तर, त्यसले भनेजस्तो उच्च शिक्षा हासिल गर्न सक्दैन, अनी फ्रस्टेशनमा जान्छ । धेरै विद्यार्थीहरु कन्सल्टेन्सीहरुले गलत विश्वविद्यालय र कलेज छनौट गरिदिने, जाने वित्तिकै लाखौं कमाउन पाइन्छ, पिआर दिलाई दिन्छु जस्ता अविश्वसनीय लाग्ने प्रलोभनमा फसेका छन् । तेश्रो, अधिकांश नेपाली विद्यार्थीहरु लाखौं ऋण खोजेर विदेश गएका हुन्छन् । अभिभावकहरु जतिसक्दो चाँडो छोराछोरीले ऋण तिरिदिए हुन्थ्यो भन्नुहुन्छ अनी विदेश गएको एकाध महिनामै आफ्ना छोराछोरीलाई पैसा पठाउन दवाव दिनुहुन्छ । तर, म सबैलाई विनम्रतापूर्वक अनुरोध गर्दछु कि, कुनैपनि विद्यार्थीले जाने वित्तिकै कमाएर पठाउन सक्दैन । विदेशी विद्यार्थीको हकमा हरेक देशले सातामा निश्चित घण्टामात्र काम गर्न पाउने प्रावधान राखेको हुन्छ । त्यो भनेको विद्यार्थीले अध्ययनसँगै व्यवहारिक र व्यवसायिक अनुभव हासिल गरोस्, उसको पकेटमनी पुरा होस् भन्नेमात्र हो, नकी कमाएर घर पठाउन ।

८) विदेश जानुअघि विद्यार्थीले के–के विषयमा ध्यान पुर्याउनु जरुरी छ ?

एकदमै महत्वपूर्ण प्रश्न हो, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुको सट्टा विदेश जानु अगाडी नै विद्यार्थीहरुले आफु जाने देशको सामाजिक, सांस्कृतिक, शैक्षिक, कानुनी अवस्था र कुन कन्सल्टेन्सीबाट जान चाहेको हो त्यसको जानकारी लिनुपर्दछ । कुन उद्देश्य लिएर विदेश जाँदैछु भन्नेमा गम्भिर हुनुपर्छ ।

यसका लागि, विदेश उच्च शिक्षा हासिल गर्न जाने कि स्थायी बसोबासको लागि जाने हो प्रष्ट हुनुस् । कुन विषय पढ्न चाहेको हो, त्यसको भविष्य कस्तो छ, क्लिएर हुनुस् । भाषा परीक्षाको तयारी गर्नुहोस् । भाषा परीक्षामा तपाईको अंक राम्रो छैन भने भिसा नलाग्न सक्छ । IELTS वा PTE केवल स्कोरको खेल होइन, त्यो सञ्चारको कौशलता, वृहद् र गम्भिर दृष्टिकोणयुक्त शैक्षिक योग्यता मापन गर्ने आधार हो ।

आफु जान चाहेको देशको शिक्षा प्रणाली, काम गर्ने अवसर, भिसाको नियम, भाषा, रोजगारीका अवसर, विदेशी विद्यार्थीलाई दिइएको कानुनी अधिकार बारे इन्टरनेटसँगै सम्बन्धीत देशको कलेज र विश्वविद्यालयबाट जानकारी लिनुस् । विश्वविद्यालय वा कलेजकोस्तर, पाठ्यक्रम, कानुनी हैसियत, फ्याकल्टी बारे बुझ्नुहोस् । विदेश पढ्न जान खर्चिलो हुने भएकोले आफु जुन देश जान चाहेको हो त्यहाँको ट्यूसन फी, बसोबास, खाना, बीमा, यातायात लगायतलाई कम्तिमा ६ महिना सम्म पुग्नेगरी खर्च ब्यवस्थापन गर्नुस् ।

कन्सल्टेन्सी छनोट गर्दा, कन्सल्टेन्सी शिक्षा मन्त्रालयसँगै आधिकारिक निकायमा दर्ता छ छैन, त्यसका सञ्चालकहरुले कसरी काम गर्दैछन् ? भन्ने जानकारी लिनुस् । ‘तुरुन्त भिसा दिलाइदिन्छु, मैले चिनेको मान्छे छ, काम भइहाल्छ, फेक डकुमेन्ट बनाउँला’ भन्दै प्रोत्साहन गर्ने परामर्शदाताबाट जोगिनुहोस् । शैक्षिक परामर्शदाताले तपाईले रोजेकोभन्दा फरक विषय, कलेज र देश जान दवाव दिन्छ भने सम्झनुस् ‘दाल मे काला है’

यस्तैगरी, कन्सल्टेन्सीले शैक्षिक परामर्श सेवा शुल्क वाहेक, भिजा शुल्क, प्लेन टिकट, कलेजको शुल्क भनेर अनावश्यक पैसा माग्छ भनेपनि शंका गर्नुस् । किनभने, भिजा शुल्क सम्बन्धीत देशको राजदुतावास वा उसले तोकेको तेश्रो पक्षलाई बुझाउनु पर्छ । ट्युसन शुल्क कलेजलाई नै बुझाउने हो, टिकट आफैंले काट्ने हो । यी कुराहरुमा ध्यान दिनसके उच्च शिक्षाका लागि तपाईले चाल्नु भएको कदम सहज र सफल हुनेछ ।

९) पढ्न भनेर विदेश गएका धेरै विद्यार्थीहरुले उच्च शिक्षा पार गर्न नसक्नुको कारण के हो ?

विद्यार्थीले उच्च शिक्षाको जुन सपना लिएर गएको हुन्छ त्यसमा केन्द्रीत नहुँदा समस्या भएको हो । जाने वित्तिकै पढ्न छोडेर कमाउन लाग्ने, कलेज चेञ्ज गर्ने, गलत संगतमा पर्दा समस्या आएको हो । तर, धेरैजसो विद्यार्थीहरुले नेपालमा देखेको सपना पुरा गरेका छन् । अपवादमा एकाध जना देखिँदा सबैलाई मुछ्न हुन्न । विदेशमा उच्च शिक्षा हासिल गरेपछि मात्रै व्यवसायिक क्षेत्रको ढोका खुल्छ । मल्टीनेशन कम्पनीहरुमा अवसर पाइन्छ । पढाई छाडेर कमाउने र रमाउने गर्दा आफ्नो सपनामात्र हैन परीवारको भरोसा पनि डग्मगाउँछ ।

१०) अधिकांश विदेश गएका विद्यार्थीहरु नेपाल फर्किएका छैनन्, कसरी परामर्श गर्नुहुन्छ ?

शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर आउने हरेक विद्यार्थीलाई पहिलो प्रश्न गर्छौं ‘तपाई कुन उद्देश्यले विदेश जाँदै हुनुहुन्छ ?’ विद्यार्थीले ‘म पढ्नकै लागि बाहिर जान खोज्दैछु’ भन्छभने हामी स्वागत गर्दै उसको शैक्षिक योग्यता, आर्थिक अवस्था र व्यक्तित्व हेरेर परामर्श गर्छौं । हैन, कमाउन जाने, पिआर पाउन जाने भन्छन् भने, ‘सरी तपाई गलत ठाउँमा आइपुग्नु भयो, हामी पिआर दिन बसेका हैनौं’ भन्छौं । मैले १५ वर्ष भयो शैक्षिक परामर्श क्षेत्रमा काम थालेको । मेरो शैक्षिक परामर्शले एकजना विद्यार्थी गलत ठाउँमा परेको, दुखः पाएको इतिहास छैन । म प्रष्टरुपमा विद्यार्थीलाई भन्दछु कि, व्यवसायिक सीप र ज्ञान हासिल गर्न विदेश जानुहोस्, तर, स्वदेश पनि फर्कनु होस् । तपाईले विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई नेपाली माटोमा प्रयोग गर्नुपर्छ । तपाईले त्यहाँ अनुभव गरेको आधुनिक प्रविधि, व्यवस्थापन र सीपको खाँचो नेपालमा छ । तपाईको सीप तथा व्यावहारिक ज्ञान नेपाललाई समृद्धशाली बनाउन कोषेढुंगा सावित हुनेछ ।

विदेशमा बसेर तपाईहरुले अन्तर्राष्ट्रिय सञ्जाल बनाउँदै नेपालको व्यापार र पर्यटनमा टेवा दिन सक्नुहुन्छ । नेपालमा विदेशी लगानी आकर्षित गर्न सक्नुहुन्छ । शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, पूर्वाधार, उद्योग जस्ताक्षेत्रको विकासमा मुलुकलाई समृद्ध बनाउन तपाईको नविनतम सोच र भिजनको खाँचो छ ।

११) उच्च शिक्षाका लागि विदेश गईसकेपछि विद्यार्थीले के कस्ता भोग्नुपर्छ ?

आजकल युवाहरूमा विदेश जाने कुरा फ्यासन भइसकेको छ । ‘साथी गयो, म पनि जानुपर्छ’ भन्ने मानसिकता धेरै युवाहरुमा छ । विदेश गएर अध्ययन गर्नु भनेको सिनेमामा देखाए जस्तो रंगिन र सजिलो छैन । तर, विदेश जानुभन्दा पहिला नै स्पष्ट दृष्टिकोण र लक्ष्य निर्धारण गरेर अगाडी बढ्ने होभने अनगिन्ती अवसरका ढोकाहरु खुल्ला छन् ।

समाज र परिवारकै दवावमा विदेशमा पढ्छु भन्दापनि विदेश जाने सोच तपाईको अन्तरह्दयबाट प्रस्फुटन हुनुपर्छ । उच्च मनोबलका साथ विदेशी भूमीमा आइपर्ने जस्तोसुकै चुनौतिको सामना गर्ने दृढता हुनुपर्छ । नेपालमा आमाले पस्किदिएको खाएर थाल समेत नउठाई मोवाइल र ग्याजेट्समा भुलिनेहरुले विदेशमा प्रत्येक सेकेण्ड र मिनेटको हिसाबमा चल्नुपर्दा शारिरीक र मानसिक चुनौतिको सामना गर्नुपर्छ ।

विदेश जाने बित्तिकै धेरै विद्यार्थीले सबैभन्दा पहिला एक्लोपनको शिकार हुनुपर्छ । तपाईंको वरिपरि मान्छे त हुन्छन्, तर आफ्ना कोही हुँदैनन् । किनभने, विदेशमा हरेक व्यक्ति आफ्नै समय र संसारमा व्यस्त हुन्छ, उसलाई अरुको बारेमा बोल्ने फुर्सद हुँदैन । दोश्रो तपाईले बोल्ने भाषा र शैली फरक हुँदा समस्या पर्नसक्छ । विद्यार्थी विद्यार्थी विचको संवादमै डोमिनेट हुन सक्नुहुन्छ । तेश्रो तपाईसँग त्यो देशको कानुनी र व्यवहारिक ज्ञान पर्याप्त नहुने भएकाले कतिपय अवस्थामा नजानेरै फस्न पनि सक्नुहुन्छ । विदेश जानुअघि नै विद्यार्थीले उल्लेखित विषयमा शारिरीक तथा मानसिक तयारी गरे सफलताका सिढीँ पार गर्न सक्छ ।

१२) तपाईहरुलाई युवा जनशक्ति पलायन गराए भन्दछन्, नेपालमा विदेशी विद्यार्थी ल्याउन किन पहल गर्नुहुन्न ?

हामीले कहिल्लै युवाहरुलाई पलायन गराएका छैनौं । हामी लक्ष्य र गन्तव्य खोज्दै आएका युवाहरुलाई सहि बाटो देखाउँछौं । युवाहरुलाई विश्वव्यापी डिग्रीसँगै मुलुककालागि चाहिने सीप र अनुभव ग्रहण गराउन, ग्लोवल प्रतिष्पर्धा गर्न जाने पुलको काम गरेका छौं । आज हामीले पठाएका युवाहरुले विश्वभर प्रतिष्पर्धा गरिरहँदा त्यस्ता धेरै युवाहरु छन् जसले विश्वभर नेपाल र नेपालीको नाम उच्च बनाएका छन् । अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान जस्ता देशमा धेरै नेपालीहरु व्यवसायिक, सामाजिकसँगै राजनीतिक क्षेत्रमा समेत सफल हुनुभएको छ । त्यसो त, धेरै युवाहरु स्वदेश फर्किएर आफ्नो माटोको सेवामा लाग्नु भएको छ, जुन गर्वको विषय हो । विदेश जानु गलत हैन तर, आफ्नो पहिचान लुकाएर भासिनु चैं मातृभूमी प्रतिको अनादर हो ।


नेपालमा विदेशी विद्यार्थी ल्याउने कुरामा सरकारले वातावरण बनाओस्, हाम्रा शैक्षिक नीति, शिक्षण विधिहरु अन्तराष्ट्रियस्तरको हुन्, भिजा प्रक्रियाको सहजता होस्, हाम्रा विश्वविद्यालय र कलेजहरु अन्तराष्ट्रियस्तरका होउन् बिदेशी विद्यार्थी ल्याउन हामी तयार छौं ।

प्रतिक्रिया