अमेरिकामा किरात राईहरुद्वारा आफ्नै भुमिमा सुप्तुलुङ्ग (चुलाघर) र साकेलाभूमेथानको स्थापना

इनेप्लिज २०८२ जेठ १ गते २१:५५ मा प्रकाशित

संयुक्त राज्य अमेरिकावासी किरात राईहरुको सांस्कृतिक संस्था युनाईटेड किरात राई अर्गनाजेसन अफ अमेरिका UKROA ले किरात राईहरुको साँस्कृतिक धरोहर, आस्था र विश्वासको तिर्थधाम सुप्तुलुङ्ग र साकेलाभूमेथानको विधीवत रुपमा स्थापना गरेको छ। बैशाके पूर्णिमाबाट प्रारम्भ हुने उभौलीको पावन अवसर पारी १२ मेई, २०२५ का दिन १४ पेइग हिल ब्रिमफिल्ड, म्यासेचुसेट्मा गत १४ जनवरी, २०२५ मा संस्थाले किनेको ८.०२ एकर क्षेत्रफलको भूमीमा मुन्दुमी विधी र प्रक्रियाबाट पुजा/अनुष्टान गरी स्थापना गरिएकोछ। “

युक्रा साकेलाभूमेथान तथा साँस्कृतिक सुप्तुलुङ्ग घर”नामाकरण गरिएको यो ठाउँ किराती सँस्कृति र आस्थाको तिर्थधाम बन्नेमा केन्द्रिय महासचिव मुक्ति राईले आफु विश्वास्त रहेको बताउनु भयो। सिमसारको छेउमा अवस्थित जंगलको बीचमा साकेलाथान र त्यसको वरीपरी साँस्कृतिक कार्यक्रम र साकेला सिली नाच्नको निम्ति ठुलो गोलाकार प्राङ्गणको निर्माण गरिएको छ। सुप्तुलुङ्ग (चुलाघर) भने साकेलाथान प्रवेशद्धारको मुखैमा कृषि प्रयोजनको लागी निर्माण गरिएको घरभित्र स्थापना गरिएको छ।

नेपाली अमेरिकन किरात राईहरुको महत्वकॉक्षी योजनाको रूपमा रहेको साकेलाथान तथा सुप्तुलुङ्ग मांङ्गखिम निर्माणको सपना पूरा भएको भनी, यस अभियानका संयोजक तथा पूर्व अध्यक्ष विष्णु राईले खुसी ब्यक्त गर्नुभयो। न्युयोर्कबाट आउनु भएका UKROA को पचहत्तर वर्षिय नक्छुङ्ग पदम ब. राईले मुन्धुमी रिसिया गाँउदै र सिलीमोपा हरी राईको नेतृत्वको टोलीले मांङ्ग सिली नाचेर विधीवत रुपमा पूजा अनुष्टान गरी स्थापना गरिएको छ। तीन चुलाको सन्दर्भमा थप प्रकाश पार्नुहुदै पूर्व अध्यक्ष तथा संयोजक राईले नेपाली अमेरिकन किरात राईहरुको निम्ति यो ऐतिहासिक परिघटना हो भन्दै, विभिन्न भाषी राईहरुले तीनचुलालाई सुप्तुलुङ्ग, दायाहुईलुङ्ग, बोकोलुङ्ग, सुप्तुलु जस्ता विभिन्न नामले पुकारे पनि आस्था, विश्वास र पुजा अनुष्टान विधी एउटै भएकोले बिवाद र दुविधा नरहेको हुदाँ सबै भाषी राईहरुलाई प्रतिनिधित्व गर्ने UKROA को यो नै आधिकारिक साँस्कृतिक चुला (सुप्तुलुङ्ग) हो भनी बताउनु भयो।

”अमेरिकामा तीनचुला निर्माणको अवधारणा” नामक कार्यपत्र तयार गरी केन्द्रीय समितीमा घनिभूत छलफल पछि यो निर्णय लिईएको जानकारी समेत दिनुभएको थियो।किरात राईहरुको तिर्थधामको रुपमा रहेको तीनचुला (सुप्तुलुङ्ग) र साकेला भूमेथान स्थापनाको ऐतिहासिक उपलब्धीले अमेरिकी समाजमा हुर्किरहेका हाम्रा युवा पुस्ता र भविष्यका पिढीहरुलाई आफ्नो मौलिक संस्कृति र सभ्यतासंग व्यवहारिक रुपले परिचित गराउन र यसप्रति आस्था जगाउन यसको महत्वपूर्ण भूमिका रहने भनी UKROA का केन्द्रिय अध्यक्ष जय कु. राईले आफ्नो विचार व्यक्त गर्नुभएको थियो।

साकेलाथान र चुलाघर (सुप्तुलुङ्ग) निर्माणमा अहोरात्र खटीरहनु भएका न्यु ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण ब. राईले यो ऐतिहासिक काम सकुशल सम्पन्न गर्न सकिएकोमा आफुलाई अत्यन्तै हर्ष र गर्व लागेको बताउनु हुदै यो प्रारम्भिक चरणको काम मात्र भएकोले थप सुबिधा सम्पन्न बनाउन आबश्यक काम निरन्तर रुपले अगाडी बढिरहने बताउनु भयो। साथै आगामी जुन १ मा UKROA केन्द्रको संयोजन र न्यू ईङ्गल्याण्ड च्याप्टरको आयोजनामा हुन गईरहेको यस वर्षको ग्राण्ड साकेलाको तयारी पनि भव्यरुपमा भईरहको जानकारी दिनुहुदै UKROA का सबै च्याप्टरहरु DMVP, TAF, New York र क्यालिफोर्नियाबाट सातौं महाधिवेशन र उभौली ग्राण्ड साकेलामा सहभागी हुन आउनु हुने प्रतिनिधी किरात बन्धुहरुको निम्ति बोस्टन शहरको होलिडे ईन होटलमा व्यवस्थापन गरिएको बताउनुहुदै सम्पूर्ण न्यू ईङ्गल्याण्डबासी किरात बन्धुहरुलाई सहभागीताको निभित्त निमन्त्रणा र उभौलीको शुभकामना व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया