रिचमण्डमा मदर्स डे र बुद्ध पूर्णिमा मनाइयो

इनेप्लिज २०८२ वैशाख २९ गते २२:१८ मा प्रकाशित

भर्जिनियाको राजधानी रिचमण्डमा माता तीर्थ औंसी,मदर्स डे र बुद्ध पूर्णिमा सामुहिक रूपमा मनाइएको छ । पाठशाला अफ एनसीआरभीएको आयोजनामा आइतबार विविध कार्यक्रम सहित यी चाडहरू मनाइएको हो ।

रिचमन्डको क्यासलपोइन्ट पार्कमा आयोजित सो कार्यक्रममा रिचमन्ड नेपाली पाठशालाका विद्यार्थीहरूले आमाको मूल्य र महत्वका विषयमा विविध गतिविधिहरू प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरूको करीब एक घन्टाको शिक्षण पश्चात शिक्षिका सुधा भुषालले कवि सिद्धिचरण श्रेष्ठको आमा कविता वाचन गर्दै कार्यक्रममा रौनक ल्याइन् ।

सो कार्यक्रममा शिक्षिका अन्जु रेग्मीको आमन्त्रणमा लेखक पशुपति घिमिरेले भगवान बुद्ध र बुद्ध पूर्णिमामा विषयमा एक सारगर्भित प्रस्तुति दिएका थिए । सबै बालबालिकाले बुझ्न सकून भन्ने उद्देश्यले साधारण अंग्रेजीमा दिइएको सो प्रस्तुतिमा गौतम बुद्ध को हुन् , लुम्बिनीको महत्व के छ,बुद्ध पूर्णिमा के हो र यसको महत्त्व के छ , आधारभूत बौद्ध शिक्षाहरू के हुन् जस्ता विषयमा लेखक घिमिरेले प्रकाश पारेका थिए ।

करीब एक सयको संख्यामा उपस्थित विद्यार्थी,शिक्षक र अभिभावकहरूका बीच विभिन्न प्रतियोगिताहरू पनि आयोजना गरिएको पाठशाला सचिव किरण मानिकेले बताए ।

खुट्टामा बाँधेका बेलुन फुटाउने प्रतियोगितामा अभिभावक तर्फ पूनम भट्टराई प्रथम भइन् भने विद्यार्थी तर्फ प्रसिद्धी घिमिरे प्रथम भइन् ।

बोरा दौड प्रतियोगितामा विद्यार्थी तर्फ प्रिसा रेग्मी,जागृत भट्टराई,अनुष्का कोइराला,जिज्ञासा भट्टराई,अर्नब दाहाल,श्रेयस कोइराला,तृषाग्नी ढकाल,प्रिसा सिलवाल र डेभिन तिवारी पुरस्कृत भए भने अभिभावक तर्फ साधना अधिकारी,सितु अवस्थी,सरू ठकुरी र स्मृति शर्मा पुरस्कृत भएको पाठशाला पूर्व अध्यक्ष पूर्ण दाहालले बताए ।

त्यसैगरी छोराछोरीले आमाको कपाल बाट्ने प्रतियोगितामा आमा बर्षा घिमिरे र छोरी प्रसिद्धी घिमिरे प्रथम भए भने नीरू तिवारी,अनुष्का कोइराला,कर्मदा तिवारी आदि पुरस्कृत भएको पाठशाला अध्यक्ष जीवनाथ दाहालले बताए ।

त्यसैगरी विद्यार्थीहरूको गुच्चा दौडमा इप्सा उप्रेती,जागृत भट्टराई,तृषाग्नी ढकाल,कर्मदा तिवारी, अनयः शर्मा र आर्या तिवारी पुरस्कृत भए भने अभिभावक तर्फ पुनम पोख्रेल र सीतु अवस्थी पुरस्कृत भएको पाठशाला समिति सदस्य मोहन जोशीले बताए ।

कार्यक्रममा उपस्थित सबैलाई दिवा भोजनको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया