अमेरिका–मेक्सिको सीमाबाट अप्रिल २०२५ मा अवैध प्रवेशकर्ताको संख्या गत वर्षको तुलनामा ९३% ले घटेको छ। अमेरिकी सीमा सुरक्षा विभाग (सिबिपी ) का अनुसार ट्रम्प प्रशासनको प्रभावशाली सीमा रणनीतिका कारण यो ऐतिहासिक गिरावट सम्भव भएको हो।
सिबिपीको नयाँ तथ्यांक अनुसार अप्रिल महिनामा दैनिक औसत २७९ जनामात्रै पक्राउ परे, जबकि २०२४ को अप्रिलमा यो संख्या ४,२९७ थियो। कुल पक्राउ संख्या ८,३८३ मा सीमित भयो भने जुन गत वर्षको १,२९,००० को तुलनामा अत्यधिक न्यून हो।
पक्राउ परेका अवैध आप्रवासीमध्ये अप्रिल २०२५ मा केवल ५ जनामात्रै अस्थायी रूपमा अमेरिका प्रवेश गर्न दिइयो जबकि गत वर्ष यसै महिनामा ६८,००० जनालाई देशभित्र छोडिएको थियो।
सिबीपीका कार्यवाहक आयुक्त पिट फ्लोरेसले भने, “विगतका वर्षहरूमा देखिएको कमजोरीलाई अन्त्य गर्दै अहिले हामी सीमामा वास्तविक नियन्त्रण देखिरहेका छौं। धेरै गुप्तचरहरू अहिले मैदानमा फर्किएका छन् – जुन सम्भव छैन जस्तो लाग्थ्यो।”
फक्सन्यूजका अनुसार लागू पदार्थ नियन्त्रणतर्फ पनि ट्रम्प प्रशासनको कडा नीति देखिएको छ। अप्रिलमा १५% बढी लागूऔषध बरामद गरिएको छ, जसमा ७५८ पाउन्ड फेन्टानाइल समेटिएको छ।
गत मार्चमा दक्षिण-पश्चिमी सीमाबाट इतिहासमै सबैभन्दा कम अवैध प्रवेश भएको थियो। मार्चमा मात्र ७,१८१ जना पक्राउ परेका थिए जुन फेब्रुअरीको तुलनामा १४% र बाइडेन प्रशासनकालीन २०२४ को तुलनामा ९५% ले कम हो।
प्रतिक्रिया