५८४ दिनपछि इडन एलेक्ज्यान्डर मुक्त: गाजाबाट बाँचेर फर्किएका अन्तिम जीवित अमेरिकी बन्धक घर फर्किए

इनेप्लिज २०८२ वैशाख २९ गते १७:१२ मा प्रकाशित

इजरायल रक्षा बलका अनुसार अमेरिकी नागरिक इडन एलेक्ज्यान्डर गाजाबाट ५८४ दिनपछि मुक्त भएर सोमबार इजरायली सेनाको जिम्मामा फर्किएका छन्। 

अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि अपहरणमा परेका २१ वर्षीय एलेक्ज्यान्डरको यो १८ महिनाको कठिन यात्रा सोमबार अन्त्य भएको छ ।

हमासले आइतबार राति अमेरिकासँगको वार्तापछि एलेक्ज्यान्डरलाई रिहा गर्ने निर्णय गरेको घोषणा गरेको थियो। 

युद्धविराम र मानवीय सहायता पुनः सुरु गराउने प्रयास अन्तर्गत अमेरिकी पहलमा यो सहमति भएको हो। सोमबार हमासले उनलाई रेडक्रसको जिम्मा लगाएको थियो, जसले उनलाई इजरायली सुरक्षाबललाई हस्तान्तरण गर्‍यो।

Screenshot

रिहापछि उनलाई स्वास्थ्य परीक्षणका लागि लैजाने र आफ्ना परिवारसँग पुनर्मिलन गराउने तयारी गरिएको छ। आडिएफका अनुसार उनि घर पुगेको पुष्टी गरेको छ ।

होस्टेज एण्ड मिसिङ फ्यामिलिज फोरम’ का अनुसार उनले आमा याएलसँग दूरवार्तामा कुराकानी गरिसकेका छन्।

उनको  रिहाइ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणको अघिल्लो दिन भएको हो, जहाँ उनी साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स भ्रमण गर्ने तयारीमा छन्।

न्यू जर्सीका बासिन्दा एलेक्ज्यान्डर इजरायली सेनामा सेवा गर्दै गर्दा गाजा सिमानाबाट हमासद्वारा अपहरणमा परेका थिए। 

उनकी आमा याएलले सीएनएनलाई दिएको अन्तर्वार्तामा भनिन्, “उनी एउटा जीवन्त, हास्यप्रेमी र सबैसँग घुलमिल हुने विशुद्ध अमेरिकी युवक हुन्।”

यस घटनाले गाजामा बाँकी रहेका अन्य बन्धकहरूको अवस्थाबारे पनि अन्तर्राष्ट्रिय चासो पुनः बढाएको छ।

प्रतिक्रिया