ताजा समाचार : औषधि उद्योगद्वारा राष्ट्रपति ट्रम्पको औषधि मूल्य योजना प्रति कडा आलोचना

इनेप्लिज २०८२ वैशाख २९ गते १३:४२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले केही औषधिहरूको मूल्य निर्धारण मोडेल परिवर्तन गर्ने तयारी गरिरहँदा औषधि उद्योगले यस योजनालाई कडा आलोचना गर्दै विरोध जनाएको छ।

ट्रम्पले सोमबार हस्ताक्षर गर्ने कार्यकारी आदेशले औषधिको मूल्य घटाउने दाबी गरे पनि औषधि कम्पनीहरूले त्यसलाई “अमेरिकी बिरामीहरूका लागि खराब सम्झौता” भनेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “म ‘सर्बाधिक प्राथमिक राष्ट्र नीति’ ल्याउँदैछु, जसअनुसार अमेरिकाले विश्वमा जुन राष्ट्रले सबैभन्दा सस्तो मूल्यमा औषधि किन्छ, त्यही मूल्यमा तिर्छ।” यो नीति मुख्यत: चिकित्सा बीमा (मेडिकेयर) अन्तर्गत चिकित्सक मार्फत दिइने औषधिहरूमा लागु हुनेछ।

तर, अमेरिका भरिका प्रमुख औषधि कम्पनीहरूको प्रतिनिधि संगठन पिएचआरएमएले यस योजनाको विरोध गर्दै भनेको छ, “विदेशी मुल्य प्रणालीको आयातले चिकित्सा बीमा (मेडिकेयर)मा अर्बौं डलरको कटौती गर्नेछ, तर बिरामीहरूलाई सहयोग पुग्छ भन्ने कुनै प्रत्याभूति (ग्यारेन्टी )छैन।” संगठनका अध्यक्ष स्टेफन जे. उबलले भने, “यसले हाम्रो सदस्य प्रतिष्ठान हरूले अमेरिकामा गर्ने सयौं अर्ब डलरको लगानीलाई खतरा पुर्‍याउँछ र अमेरिका चीनमाथि अझै निर्भर बन्न सक्छ।”

ट्रम्पको यो योजना पहिलो कार्यकालमा पनि विवादास्पद बनिसकेको थियो। उनले आफ्नो कार्यकालको अन्त्यमा यस्तै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, तर पछि बाइडेन प्रशासनका अवधिमा अदालतले सो नियम कार्यान्वयन हुनबाट रोक लगाएको थियो।

यो पटकको आदेशले मुख्यत: मेडिकेयर भाग – बि (चिकित्सा बीमा अर्थात् चिकित्सकको भेटघाट, बिरामी उपचार, र अन्य स्वास्थ्य सेवा खर्चहरू प्रवन्ध गर्छ) अन्तर्गतका औषधिहरूमा असर पार्नेछ, जसले चिकित्सक उपचार कक्ष कार्यालयमा दिइने औषधिहरू समेट्छ। यी औषधिहरूको खर्चमा बिरामीहरूले पनि योगदान गर्नु पर्ने हुन्छ, र पारंपरिक चिकित्सा बीमा योजनामा वार्षिक खर्च सीमा छैन।

ट्रम्प प्रशासनको पहिलो कार्यकालको एक प्रतिवेदन अनुसार, अमेरिका यस्ता औषधिहरूमा अन्य देशहरूभन्दा दोब्बर खर्च गर्दै आएको छ। २०२१ मा मात्र मेडिकेयर भाग -बि मा औषधि खर्च ३३ बिलियन डलर पुगेको थियो।

प्रतिक्रिया