एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्र मन्त्री राणाको दाबी
काठमाडौँ
गैर आवासीय नेपाली(एनआरएनए)को एकता महाधिवेशन काठमाडौँमा सुरु भएको छ। परराष्ट्र मन्त्री आरजु देउवा राणाको प्रमुख आतित्थ्यतामा महाधिवेशन सुरु भएको हो । काठमाडौँ सुरु भएको महाधिवेशनले एनआरएनलाई नयाँ रूपमा लैजाने अपेक्षाका बिचमा सुरु भएको हो ।
सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा वनेको उच्चस्तरीय समितिको पहलमा आजदेखि काठमाडौँमा एकता महाधिवेशन सुरु भएको हो ।
एकता महाधिवेशन उद्घाटन गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवाले एनआरएनए परिचय पत्र मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै एक भएर अघि बढ्न सुझाव दिइन् । उनले सर्वोच्चमा अदालतको फैसला लगत्तै आफूले शेष घलेसँग छलफल गरेर महाधिवेशनको बारेमा कुरा गरेको र आज यो उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् । एनआरएनएको समन्वय गर्ने मन्त्रालयको रूपमा आफू एकता महाधिवेशनमा उपस्थित भएको भन्दै मन्त्री राणाले आगामी दिनमा सबै गैर आवासीय नेपालीहरू एक भएर अघि बढ्न पनि सुझाव दिइन् । उनले अव एनआरएनएमा विवाद भन्दा साझा संस्थाको रूपमा अघि बढ्ने आफूले विश्वास लिएको बताइन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एनआरएनए जस्ता संस्थाहरूमा विवाद भन्दा एक भएर जान र उनीहरूसँग भएको पुँजी तथा सिमलाई नेपालमा प्रयोग गर्न आग्रह गरे । उनले एनआरएनएहरूलाई नेपालमा लगानी गर्न कानुन झन्झट भएको गुनासो आएको तर यसमा सरकारले पहल गर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भारत र चीनमा जसरी एनआरएनएले लगानी गरेर देश विकास सुरुवात गरे नेपालले पनि यसबाट सिक्नुपर्ने पनि बताए ।
त्यस्तै पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवेशन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए । उनले विदेशमा रहेका नेपालीहरूको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए ।
कार्यक्रमका सभापति शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्बोधन गर्दै अव एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए । उनले आफूहरूको समय र अहिलेको समय फरक भएकाले अव युवाहरू नेतृत्वमा आकर्षित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सबैले ध्यान दिने सुझाव दिए । घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए ।
उनले निर्वाचन विवादरहित बनाउन सदस्यता देखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए । तीन दिनसम्म चल्ने अधिवेशनमा आइतबार निर्वाचन मार्फत नयाँ प्रतिनिधि छानिछ । सोमबार कार्यक्रम समापन हुने छ।
प्रतिक्रिया