दुबईमा अर्घाखांची सम्पर्क समिति युएईको बार्षिक साधारण सभा सम्पन्न

लालबहादुर ढेंगा, दुबई, युएई २०८२ वैशाख १६ गते २२:१८ मा प्रकाशित


दुबई । हातमा लगाएको घडी हेर्दा दिउंसोको २ बजेर ४५ मिनेट भैसकेको थियो । आज त धेरै लेट भइसक्यो भन्दै हतार–हतारमा हलभित्र प्रवेश गर्ना साथ स्टेजको साईडमा भएको एउटा सानो टेवलमा क्यामेराको व्याग राखेपछि पूरा हललाई एक पटक सरसर्ती नियाल्न भ्याए । कार्यक्रम भर्खरै मात्र उद्घाटन भएर नेपाली राष्ट्रिय गानका लागि तयारी भइरहेको अवस्था थियो । दांया तर्फ हेर्दा अतिथि सत्कारका लागि साडीमा चितिक्क सजिएर दिदीबहिनीहरु उभिएका थिए भने अगाडि तर्फ हेर्दा सोफाको पहिलो लाईनमा प्रमुख अतिथि, सभाध्यक्ष र अतिथिहरु उभिएको थियो । बांया साईड स्वयेमसेवकहरु उभिएको पाए ।

त्यहि स्वयेमसेवकहरुमध्ये एक जना नजिकका मित्र धर्मराज पाण्डेलाई देखेपछि सुतुक्क कानमा गएर सोधी हाले, किन होला हलमा दर्शकहरु खचाखच भरिएको देखिन्छ ? कहांबाट ल्याउनु भयो यति धेरै भनेर हांसो ठट्टा गरियो । उताबाट के हामी अर्घाखांचीवासीहरु पनि के मा कम छौं र भन्ने जवाफ आयो । किन कि हलभित्रको नजारा हेर्दा अगाडिदेखि लिएर पछाडिसम्म दर्शकहरुले भरिएको थियो । कुनै पनि कार्यक्रम आयोजना गर्दामा कार्यक्रमको सुरुवाटबाट नै समयमा हल भरिनुु भनेकै आयोजकको कडा मेहनत र सफलताको संज्ञा देखाएको हुन्छ । म हलभित्र भित्रिएपछि माहौल नै भिन्न हुन थाल्यो । त्यहि मौकालाई छोपेर व्यागबाट क्यामेरा, कापी र कलम हातमा आएपछि कार्यक्रमको बयान यसरी भएको छ ।

गएको २७ अप्रिल २०२५ आईतबारका दिन दुबईस्थित अस्टोरिया होटलको क्लब एभरेष्टको हलमा अर्घाखांची सम्पर्क समिति युएईले विविध सांगीतिक माहौलमा नयां बर्ष २०८२ सालको शुभकामना आदानप्रदानसंगै बार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ । छैठौं कार्यसमितिले २१औं बार्षिकोत्सवको अवसर पारेर सो कार्यक्रम गरेको हो ।

औपचारिक कार्यक्रमको थालनी पंञ्चकन्याद्धारा स्वस्तिवाचन लगत्तै प्रमुख अतिथि, सभाध्यक्ष र अतिथिहरुबाट दीप प्रज्योलनका साथ भएको थियो । नेपाली राष्ट्रिय गान पश्चात सचिव सविना खड्काको शभकामना मन्तव्य रहेको थियो । सोही अवसरमा सह–कोषाध्यक्ष राकेश रायमाझीले एक बर्ष भरिको आफ्नो बार्षिक प्रतिवेदन राखेको थियो भने अध्यक्ष जेपी पोखरेलबाट आफ्नो कार्यप्रतिवेदन सबैको माझमा छर्लङ्ग पारिदिएको थियो । कार्यक्रमको रुप रेखा र समाजको बारेमा उपस्थित अतिथिहरुले आ–आफ्नो भनाई र जिज्ञासाहरु राखेका थिए ।

सन् २००४ मा अर्घाखांचीवासीहरुको पहलमा स्थापना भएको अर्घाखांची सम्पर्क समिति युएई अहिले २१ बर्षको जवान युवा अवस्थामा भइसकेका छन् । स्थापनाकालदेखि युएईमा कर्मथलो बनाउंदै आएका अर्घाखांचीवासीहरुलाई गोलबद्ध गर्दै आइपरेका समस्याहरुको समाधान गरेको पाईन्छ । यो समाजले बाल्यकालदेखि युवा अवस्थासम्म आइपुग्दा धेरै सुख, दुःख, तातो र न्यानोको आभास गरिसकेको हुनु पर्दछ । प्रवासको भूमिमा टाढा–टाढा भएका जिल्लावासीहरुलाई एउटै परिवारको रुपमा रुपान्तर गर्दै बेला बखतमा चाड पर्वको स्वादहरु चखाउंदै आइरहेका छन् । समाजलाई अझै बलियो र क्रियाशिल बनाउनका लागि कार्यक्रममा आजिवन सदस्यता समेत बितरण गरेका थिए ।

कार्यक्रमलाई सांगीतिक माहौलमा धाल्नका लागि युएईमा कर्मथलो बनाउंदै कलाकारितामा स्थापित भइसकेका स्थानीय कलाकारहरुको ठूलो जमघट रहेको थियो । जस्मा नेपाली डान्स ग्रुपबाट आशमान तामाङ, शितल थापा, माया रजाली मगर, सविता आले मगर, कुल थापा, होम रजाली मगर र रश्मि आले मगरको ग्रुप नत्य रहेका थिए । त्यस्तै गरि गायक निरज केसी, गायक दीपक शाह ठकुरी, नरेश भाट र निरा तामाङको संयुक्त जोडी नृत्य, लोक गायक नरेन सापकोटा, लोक गायिका निरुता गैरे, बिकास सुब्बा र मन्जु आचार्यको संयुक्त जोडी नृत्य, लोक गायक दीपक दर्लामी मगर, गायक राजु परियार, प्रियन्का श्रेष्ठको नृत्य, गायिका पार्वता पाण्डे, गायक पुष्पा परियार र सरोज थापा मगरको भव्य प्रस्तुति रहेका थिए । हिन्दू जागरण नेपाल युएईको भजनले कार्यक्रमलाई पवित्र बनाई दिएको थियो । रंगारंग नाच गानसंगै नेपाली परिकारका सेलरोटी, अचार र चियापानले झनै सुनमा सुगन्ध थपिदिएको थियो ।

समाजका महासचिव अमित पाण्डेले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान रहनुभएका थिए भने कार्यक्रमको अध्यक्षता अर्घाखांची सम्पर्क समिति युएईका अध्यक्ष जेपी पोखरेलले गर्नुभएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।

प्रतिक्रिया