(निबन्ध)
शिक्षक ज्ञान, सिप र मूल्य सिकाउने व्यक्ति हो । शिक्षकले सिकारुको शैक्षिक, व्यावसायिक र व्यक्तिगत जीवनमा मार्गदर्शन गर्छ । शिक्षक पाठ्यक्रमको व्याख्याता, मानसिक विकासकर्ता, सर्जक र असल सहयोगी हो । एक असल शिक्षक सम्पूर्ण जिज्ञासु सिकारुको दक्ष माली हो । शिक्षक वा गुरुले ज्ञान, धर्म, आत्मा, मोक्ष र जीवनदर्शन सिकाउँछन् । नीति, दर्शन र शास्त्रीय ज्ञान दिन्छन् । विद्यालय, कलेज वा विश्वविद्यालयमा पाठ्यक्रमअनुसार शिक्षा दिन्छन् । कुनै विशेष सिप, सिप वा दक्षता सिकाउँछन् । जीवनका आधारभूत संस्कार, भाषा, आचरण र नैतिकता सिकाउँछन् ।
अनुभव नै सबैभन्दा ठुलो शिक्षा हो भन्ने सिकाएर जीवनमा तत्परता उमारिदिन्छन् । समाजमा सिकारुको जीवन परिवर्तन गर्ने, आदर्श निर्माण गर्ने, प्रेरणा दिने, साहस जगाउने र विचारको बाटो खोल्ने शिक्षक नै हुन् । शिक्षक एकै प्रकारका हुँदैनन् । कहिले गुरु, कहिले आचार्य, कहिले प्रशिक्षक, कहिले जीवन शिक्षक बन्छ । शिक्षक सामाजिक, धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट उच्च हुन्छ, हुनुपर्छ । समाजले शिक्षकका सबै रूपलाई सम्मान र सहारा दिनुपर्छ । पूर्वीय संस्कारमा आध्यात्मिक र आत्मिक सम्बन्ध सेतुका रूपमा गुरु शिष्य परम्परा छ । शिष्यले आज्ञा पालन, सेवा, तपस्या र श्रद्धामार्फत गुरुको सम्मान गर्छन् । गुरुजी, आचार्य, स्वामीजस्ता शब्द प्रयोग गरी शिक्षकको सम्मान गरिन्छ । गुरुलाई प्रश्न सोध्दा आदरसाथ अनुमति मागिन्छ । गुरुको शिक्षा अनुसरण गर्नु नै सबैभन्दा ठलो सम्मान मानिन्छ । हिन्दु संस्कारमा शिक्षकलाई जीवनका मार्गदर्शक माने पूजा गर्ने परम्परा दिएको छ । आज त्यस श्रद्धालाई व्यवहारिक, डिजिटल र सामाजिक रूपमा जोगाउनु जरुरी छ । बुद्ध धर्ममा शिक्षकलाई त्रिरत्नमध्ये सङ्घरत्न मानी भिक्षु, भिक्षुणी र आचार्यलाई सम्मान गरिन्छ । गुरुका उपदेश ध्यानपूर्वक सुन्ने र अभ्यासमा उतार्ने मान्यता छ । बुद्ध जयन्ती, धर्मचक्र प्रवर्तन दिवस वा गुरु पूर्णिमाको दिन गुरु वा आचार्यको विशेष सम्मान गरिन्छ । बौद्ध विहार र गुम्बामा गुरु उपदेश कार्यक्रम, पुष्पार्पण, भेटघाटसहित सत्कार हुन्छ । बुद्ध धर्ममा गुरुको साँचो सम्मान भनेको उनको शिक्षाअनुसार आचरण गर्नु हो । बुद्धका भनाइमा गुरु ज्ञानमा निपुण, अनुशासित, सहिष्णु, करुणावान्, स्पष्ट वक्ता, शान्त चित्त भएको, निःस्वार्थ, धैर्यवान्, व्यावहारिक र शिष्यप्रति दयाशील हुनुपर्छ । बुद्ध धर्ममा दान, समय, प्रचारमा बौद्ध संस्थालाई सहयोग गर्ने, अध्ययन चक्रमा
सहभागी हुने र गुरुलाई व्यक्तिगत रूपमा धन्यवाद दिई सम्मान गर्ने चलन छ । क्रिस्चियन संस्कारमा पनि शिक्षकलाई धर्मिक गुरु, बाइबलका ज्ञाता र आत्मिक मार्गदर्शकका रूपमा सम्मान गरिन्छ । बाइबलमा शिक्षकलाई उच्च स्थान दिइएको छ । बालबालिका र युवालाई बाइबल सिकाउने, धर्मोपदेश दिने, बाइबल व्याख्या गर्ने र विश्वासमा मार्गदर्शन गर्ने व्यक्तिका रूपमा शिक्षकलाई फादर भनी सम्बोधन गर्ने चलन छ । चर्चमा शिक्षकको परिवार, स्वास्थ्य र ज्ञानको वृद्धिका लागि सामूहिक प्रार्थना गर्ने चलन छ । इस्लाम धर्ममा शिक्षकलाई उलमा, मुअल्लिम वा शैख भनेर सम्मानपूर्वक सम्बोधन गरिन्छ । शिक्षकलाई ज्ञानदाता, रुहानी (आध्यात्मिक चिन्तन) मार्गदर्शक, धर्म र जीवनशैलीको प्रशिक्षक मानिन्छ । इस्लाम संस्कारमा सबैभन्दा ठुलो नेमत (वरदान) ज्ञान (इल्म) हो । ज्ञान दिने शिक्षकको स्थान अत्यन्तै उच्च मानिन्छ ।
हदीसअनुसार शिक्षक कुरआन सिकेर अरूलाई सिकाउन सक्ने सबैभन्दा उत्तम व्यक्ति हो । इस्लाम संस्कारमा शिक्षकसँग बिनाअनुमति बोल्नु, तर्क गर्नु, वा अभद्र व्यवहार गर्नु गुनाह मानिन्छ । शिक्षकलाई खाना, यातायात वा अन्य व्यावहारिक सहयोग गर्नु पुण्यकार्य हो । मस्जिद वा मदरसामा पनि शिक्षकका लागि छुट्टै स्थान वा कुर्सी बनाएर बोलाइ, व्यवहार र नजरमा ध्यान दिई सम्मान गरिन्छ । साउदी अरबमा शिक्षकलाई कुरआनिक शिक्षक मानी समाजमा सम्माननीय स्थान दिइन्छ । इन्डोनेसियामा नोभेम्बर २५ मा शिक्षक दिवस मनाइन्छ र पुरस्कार र सार्वजनिक धन्यवाद दिइन्छ । शिक्षकले दिएको शिक्षाअनुसार आचरण गर्नु, सद्भाव र सेवा देखाउनु, उनीहरूका लागि दुआ(प्रार्थना) गर्नु शिक्षकको सम्मान गर्नु मानिन्छ ।
शिक्षक समाजको विशिष्ट व्यक्ति भएकाले संसारभर शिक्षकलाई सम्मान गरिन्छ । हरेक देश वा संस्कृतिमा शिक्षकको योगदानलाई मूल्याङ्कन गर्ने आफ्नै परम्परा र अभ्यास छन् । हरेक वर्ष अक्टोबर ५ तारिखमा विश्व शिक्षक दिवस मनाइन्छ । सन् १९९४ देखि युनेस्को र आइएलओले सुरु गरेको यस दिवसले शिक्षकको भूमिका, अधिकार र योगदानको सम्मान गर्छ । नेपालमा आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाका रूपमा मनाई गुरुको सम्मान गरिन्छ । विद्यार्थीले फूलमाला, टीका, मिठाई दिएर सम्मान गर्छन् र शिक्षकबाट आशीर्वाद लिन्छन् । केही विद्यालय वा संस्थाले पुरस्कार र सम्मानपत्र पनि दिन्छन् ।
भारतमा सर्वपल्ली राधाकृष्णनको जन्मदिन सेप्टेम्बर ५ मा शिक्षक सम्मान कार्यक्रम राखिन्छ । विद्यालयमा विशेष कार्यक्रम, भाषण, नाचगान आदि आयोजना गरिन्छ । विद्यार्थीले शिक्षकको भूमिकामा नाटक प्रस्तुत गर्छन् । केही राज्यमा पुरस्कार र सम्मान पनि प्रदान गरिन्छ । केन्द्रीय विश्वविद्यालयका शिक्षकका सर्वोच्च नागरिक सम्मान इन्सपायर्ड टिचर अवार्ड प्रदान गरी शिक्षकलाई राष्ट्रपति भवनमा एक हप्ता बस्ने अवसर दिइन्छ ।
चीनमा सेप्टेम्बर १० मा विद्यार्थीले कार्ड, उपहार, फूल दिएर शिक्षकको सम्मान गर्छन् । सरकारले उत्कृष्ट शिक्षकलाई राष्ट्रिय पुरस्कार दिन्छ । अमेरिकामा मे महिनाको पहिलो सप्ताहलाई शिक्षक सम्मान सप्ताहका रूपमा र मे महिनाको दोस्रो मङ्गलबार शिक्षक दिवसका रूपमा मनाइन्छ । यस बेला विद्यार्थी, अभिभावक र समाजले शिक्षकप्रति धन्यवाद ज्ञापन गर्छन् । विद्यालयले शिक्षकलाई विशेष भोज, कार्ड, उपहार दिने चलन छ । शिक्षण क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्ने शिक्षकलाई सरकारी तवरमा शिक्षणको ओस्कार पुरस्कार प्रदानगरिन्छ ।
जापानमा छुट्टै शिक्षक दिवस छैन तर त्यहाँ हरेक दिन नै शिक्षक दिवस जस्तो हुन्छ । शिक्षकप्रति अत्यधिक आदर गरिन्छ । विद्यार्थीले सम्मानजनक शब्द सेन्से प्रयोग गरी शिक्षकलाई सम्बोधन गर्छन् । विद्यालयमा शिक्षकको आदेशलाई पूर्ण रूपमा पालना गरिन्छ र उच्च सामाजिक सम्मान प्रदान गरिन्छ । दक्षिण कोरियामा मे १५ मा शिक्षक दिवस मनाइन्छ । विद्यार्थीले शिक्षकलाई गुलाबको फूलको रातो कार्नेसन दिँदै झुकेर सम्मान गर्छन् । ब्राजिलमा अक्टोबर १५ मा विद्यार्थीले प्रस्तुति, कार्ड, उपहार दिएर सम्मानसाथ शिक्षक दिवस मनाउँछन् । विद्यालयमा शिक्षकका लागि विशेष कार्यक्रम गरिन्छ । फ्रान्समा विशेष शिक्षक दिवस नभए पनि शिक्षकप्रति गहिरो आदर प्रकट गरिन्छ । मन्त्रालयले उत्कृष्ट शिक्षकलाई पुरस्कार दिने र बढुवाको व्यवस्था गर्ने गर्छ । जर्मनीमा नवप्रवर्तनात्मक शिक्षण अभ्यास र विद्यार्थी शिक्षक सहकार्यको जिम्मेवारीका आधारमा शिक्षकलाई राष्ट्रिय सम्मान प्रदान गरिन्छ शिक्षकको पेसागत विकास र कल्याणका लागि डेनमार्क र इस्टोनियामा सरकारद्वारा शिक्षकको तलब वृद्धि, कार्यभार घटाउने र पेसागत प्रशिक्षणका अवसर समावेश गरी विशेष कार्यक्रम सञ्चालन गरिन्छ । शिक्षकको योगदानको कदर गर्न विद्यार्थी र अभिभावकले धन्यवाद पत्र लेख्ने, सन्देश पठाउने र सानो उपहार दिई नागरिक सम्मान गर्ने चलन छ । इरानमा २ मेमा शिक्षक दिवस मनाइन्छ । यस अवसरमा इरानका राष्ट्रपति र अन्य उच्च सरकारी अधिकारीले शिक्षकको योगदानको कदर गर्दै सार्वजनिक कार्यक्रमको आयोजना गर्छन् । विद्यार्थीले फूल, कार्ड र व्यक्तिगत सन्देश पठाएर विशेष महत्वसाथ नागरिक सम्मान गर्छन् । थाइल्यान्डमा जनवरी १६मा, भियतनाममा नोभेम्बर २० मा र टर्कीमा नोभेम्बर २४ मा शिक्षकलाई सम्मान दिने विशेष परम्परा छ ।
वर्तमान समाज डिजिटल, गतिशील र विविधतायुक्त छ । पहिले फूल, माला, कार्ड वा उपहार दिएर शिक्षकको सम्मान गरिन्थ्यो । अहिले डिजिटल र सिर्जनात्मक रूपमा समेत शिक्षकलाई सम्मान गरिन्छ । विद्यार्थी र अभिभावकले भिडियो सन्देश, फोटो स्लाइड सो वा सोसल मिडिया पोस्टमार्फत शिक्षकप्रति डिजिटल ट्रिब्युट र ह्यासट्याग प्रयोग गरी आभार प्रकट गर्छन् । भर्चुअल सम्मान समारोह, अनलाइन कार्यक्रम गरेर पनि शिक्षकलाई प्रमाणपत्र, ताली वा शुभकामना दिइन्छ । भिडियो गेम वा मेटाभर्सभित्र शिक्षकको डिजिटल ट्रफी अभान्तर ट्रिब्युट बनाउने चलन पनि सुरु भएको छ । कतिपयले क्राउडफन्डेड गिफ्ट यात्रा प्याकेज, पुस्तक कलेक्सन वा अनलाइन कोर्स उपहार दिने गर्छन् । शिक्षकलाई नयाँ सिप सिक्न सम्मेलन, कार्यशालामा सहभागी गराउने, विद्यार्थीले शिक्षकका लागि गीत
लेख्ने, कविता लेख्ने, डिजिटल आर्ट बनाउने वा ब्लग लेख्ने पनि चलन छ । विद्यार्थीले शिक्षकको व्यक्तिवृत्त भित्तो सजाउने अभ्यास पनि छ । पुराना शैलीको हातले लेखिएको पत्र पोस्ट गरेर सामाजिक सञ्जालमा धन्यवाद अभियान चलाएर, शिक्षकको योगदानलाई सम्झन नयाँ कोठाको नाम राखेर, वृक्षरोपण गरेर, पुस्तकालयको नाम राखेर पनि सम्मान गर्ने चलन छ । शिक्षक सबैलाई सिकाउन सक्ने व्यक्ति हो । सिकाउनेको स्थान सिक्नेको भन्दा माथि हुन्छ । मजीवन र जगत् सिकाउने शिक्षक बन्न चाहन्छु ।
प्रतिक्रिया