नेपाली साहित्यका मूर्धन्य साहित्यकार, नेपाल सरकारका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली राजनीतिका सर्वाधिक चर्चित राजनीतिज्ञ वी.पी. कोइरालाको देहावसानको करिब त्रिचालिस वर्ष व्यतीत भइसकेपछि उनको जीवनकथामा आधारित प्रथम ऐतिहासिक उपन्यास ‘सान्दाजु’ प्रकाशित भएको छ ।
नेपाली साहित्य जगतका उदीयमान स्रष्टा सुभाष घिमिरेद्वारा लिखित ३१५ पृष्ठको उपन्यास ‘सान्दाजु’ प्रकाशित भएसॅंगै नेपालको साहित्यिक बजारमा यसको चर्चा चुलिएको छ र नववर्ष २०८२ को आगमनसॅंगै साहित्य जगत् गर्माएको छ । अमेरिका अनुभूति (२०७९) डायरी, मौन विद्रोह (२०८०) उपन्यास र द साइलेन्ट रिबेलियन (२०८०) अङ्ग्रेजी उपन्यासका लेखक घिमिरेले वीपी कोइरालाको अदालती बयानलाई नेपालीबाट अङ्ग्रेजी भाषामा अनुवाद पनि गरेका छन् ।
त्यसबाहेक लेखक घिमिरेद्वारा अनुवादित अन्य पुस्तकहरू पनि प्रकाशित भएका छन् । ‘सान्दाजु’ स्व. वी.पी. कोइरालाको जीवनकथामा आधारित उपन्यास हो । वी.पी. कोइरालाका विचारहरू, जीवनसंघर्ष, समर्पण, त्याग, बलिदान र जीवनका चुनौतीपूर्ण घडीहरूमा उनले प्रदर्शन गरेको साहसलाई यस उपन्यासमा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । संयुक्त राज्य अमेरिकाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका सर्जक घिमिरेले नेपालबाट कृषि विज्ञानमा स्नातक गरेका छन् ।
सुन्दर स्वदेश पब्लिकेशनबाट प्रकाशित यो पुस्तकको मूल्य रू. ६५०/- छ । पुस्तक रत्न पुस्तक भण्डार, काठमाडौं, सम्पूर्ण किताब नारायणगढ, हिमालयन रिडर्स कर्नर पोखरा लगायत देशभरका विभिन्न स्थानहरूबाट बिक्री भइरहेको छ ।
प्रतिक्रिया