यस साता भारत–नियन्त्रित कश्मीरको पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव फेरि एकपटक चुलिएको छ। अज्ञात बन्दुकधारीले अनन्तनाग जिल्लामा कम्तिमा २६ जनाको हत्या गरे र दर्जनौंलाई घाइते बनाए। पीडितमध्ये नेपाली बाहेक सबै भारतीय नागरिक थिए।
भारतले तुरुन्तै पाकिस्तानमाथि दोषारोपण गर्दै कडा प्रतिक्रिया जनाएको छ। यद्यपि पाकिस्तानले कुनै संलग्नता अस्वीकार गरेको छ । भारतले कूटनीतिक सम्बन्ध घटाउने निर्णय गर्दै प्रमुख सीमा नाका बन्द गरेको छ । पाकिस्तानी नागरिकका प्रवेशाज्ञा (भिसा) रद्द गरेको छ भने दुई देशबीचको महत्वपूर्ण पानी बाँडफाँड सन्धीबाट हात झिक्ने घोषणा गरि सकेको छ ।
यसको जवाफमा पाकिस्तानले भारतसँगको व्यापार स्थगित गरेको छ भने आफ्नो आकाश मार्ग भारतीय उडानका लागि बन्द गरेको छ । भारतीय कूटनीतिज्ञहरूलाई देशनिकाला गर्यो। पाकिस्तानले चेतावनी दिँदै भन्यो, “हाम्रो देशको हकमा पर्ने पानी रोके वा मोड्ने जुनसुकै प्रयासलाई युद्धको घोषणा मानिनेछ।”
यो घटना कश्मीरको पुरानो विवादमा फेरि चर्को आगो सल्किएको संकेत हो, यो घटनाले ठूलो द्वन्द्वको रूप लिन सक्ने सम्भावना प्रबल देखिएको छ ।
प्रतिक्रिया