अभागी चोर

डा.गणेशप्रसाद भट्टराई २०८२ वैशाख ११ गते २१:३५ मा प्रकाशित

(कथा)

“ए बा ! बाटो छाड्नुहोस् त । म ओर्लिन्छु ।” एक अधबैँसे
युवतीले काँधमा धपधपाइन् ।

म भक्तपुरको सानोठिमीबाट रत्नपार्कतिर जाँदै थिएँ । मिनिबसमा बस्ने सिट नपाएर चालक बस्ने ठाउँको छेउमा पछाडि फर्केर बसेको थिएँ । ती युवती चालककै छेउमा अगाडि फर्केर बसेकी थिइन् । घरिघरि तिनको र मेरो पिठ्युँ ठोकिन्थ्यो । मलाई केही असहज लागेको थियो तर तिनले असहज मानेजस्तो लागेको थिएन । सायद म उमेरभन्दा पाको देखिने रहेछु वा मैले नेपाली टोपी लगाएकाले हो उनले मलाई बा सम्बोधन गरिन् । मानिस कम उमेरको हुन चाहन्छ रे । तर बसका सहचालकले कपाल फुलेको मानिस देखे भने बा अथवा काका भनिरहने भएकाले मलाई त्यसले पनि खासै छोएन ।

“भरखर छाप्रो आउँदै छ । तपाईँ जडीबुटी कि कोटेश्वर ओर्लिने हो ? भिड छ, ओर्लिने बेलामा उठिदिन्छु है । ओर्लिने ठाउँ आएको त छैन नि।” मैले नम्रतापूर्वक नै उत्तर दिएँ ।

“कस्तो अटेरी बा रै’छ । खुरुक्क उठे त भैहाल्छ नि ।” उनी अझै के के भन्दै थिइन् । यही बेलामा मेरो फोन आयो । एक जना नेताजीले फोन गर्नुभएको रहेछ । म फोनमा बोल्न थालेँ । बोलिसकेर कोटको दाहिने गोजीमा मोबाइल राखेँ । उनी मलाई नै दुई गज टाढा हुत्याउने गरी ठेलमठेल गर्दै झरिन् । जडीबुटी चोकमा उनी झरेर गाडी कोटेश्वरतर्फ मोडिनासाथ मैले मोबाइल छामेँ । गोजीमा मोबाइल थिएन । मैले तत्काल फोन हरायो भनेर यताउता खोजी गरेँ । अरुलाई मेरो फोनमा कल गर्न लगाएँ । रिङ गयो तर मेरो मोबाइल भाइब्रेट मोडमा रहेछ, बसमा कतै आवाज सुनिएन । अरु कोही मानिस बिचमा नओर्लेकाले मैले तिनै युवतीले फोन लगेको अनुमान लगाएँ । बसभरिका मानिसले महिला पनि यस्तो चोर भन्दै विभिन्न कुरा काट्न र आफ्ना अनुभव बताउन थाले ।

कोटेश्वरमा बस रोकिनासाथ चालक र सहचालकलाई अनुरोध गरेर यात्रु ओर्लनुपहिले मैले ट्राफिक प्रहरीलाई खबर गरेँ । प्रहरीले सबैतिर खोजिदिए, फोन गरिदिए तर रिङ गयो, मोबाइल गाडीमा भेटिएन ।

त्यही बेला एक महिला प्रहरी पर्चा बाँड्दै बसमा चढिन् र भन्न थालिन्, “मोबाइल बोक्दा तपाईँहरू सबै होसियार हुनुहोला । यो भक्तपुर एरियामा धेरै मोबाइल हराइसके । हामी ट्रयाक गर्दै छौँ । सरको पनि महँगै मोबाइल रहेछ, भेटिन्छ तर समय लाग्छ । अहिले ट्राफिकमा निवेदन दिनुहोस् र मोबाइल खोजतलास केन्द्रमा पनि निवेदन गर्नुहोस् ।” मैले केही भन्न सकिनँ । एउटी बहिनीको मोबाइलबाट फोन गरेर श्रीमतीलाई सबै कुरा बताएँ । हिँड्ने बेलामा सहचालकले भन्यो, “दाइ, सबै खोज्नुभा’छ, पछि लफडा नगर्नु है ।” म केही बोल्न सकिनँ । खुरुखुरु ट्राफिक कार्यालयमा गएर मोबाइल हराएको निवेदन दिएँ र आफ्नो काम गर्न गएँ ।

अर्को गाडी चढेपछि एक्लै सोचेँ, त्यो मोबाइल मेरा एक मित्रले मलाई उपहार दिएका थिए । मैले कसैले नगरिदिएको उनको एक काम गरिदिएँ । उनी असाध्यै खुसी भए । काम भएको दुई वर्षपछि विदेशबाट फर्कँदा उनले त्यो मोबाइल ल्याइदिएका रहेछन् । मैले लिन मानिनँ तर उनले म नभएका बखत बच्चाको हातमा हालिदिएर गएछन् । त्यसपछि मलाई लिन कर लाग्यो । त्यसमा मेरा सबै विवरण थिए । बैङ्कमा भएको केही रकम पनि अब रहेन भन्ने डर लाग्यो । अनि तिनले चाहिँ किन लगिन् होला भनेर सोचेँ । मैले स्क्रिनमै पासवर्ड राखेको थिएँ । तिनले खोल्न त सक्दिनन्, के गर्ने होला ? सायद कतै पसलमा बेचेर थोरै पैसा लिने होलिन् । सोच्दा सोच्दै मेरा बाको मृत्युको याद आयो । मोबाइल हराएको सम्झँदा मलाई परिवारको सदस्य गुमाएझैँ लाग्यो । मेरो रक्तचाप बढेझैँ भयो । आजै चाहिँ मैले उच्च रक्तचापको औषधी पनि खान बिर्सेँछु । अब केही सोच्च्न सकिनँ । चुपचाप सिटमा बसिरहेँ ।

सिंहदरबारको काम सकेर म आफ्नै अफिस सानोठिमीमा फर्केँ । साथीहरूले आज सरले फोन नै उठाउनुभएन, कति गर्दा पनि भनेर सिकायत गरे । मैले सबै कुरा बताएपछि आफ्नै शाखाका कम्प्युटर इन्जिनियरले भने, “डराइहाल्नुपर्दैन सर । टेलिकममा मेरो चिनेको साथी हुनुहुन्छ । म हजुरका सबै डाटा सुरक्षित गर्न भनिदिन्छु । अर्को सिम लिँदा भइहाल्छ । सेट चाहिँ किन्नुपर्छ । म रिपोर्ट गर्छु, भेटिन्छ सर ।” उनैले मेलबाट सबै कुराको रिपोर्ट गरिदिए । मलाई आधा जति ढुक्क भयो तर मनको पिर के गरी रोकिन्थ्यो र ! अब मलाई मोबाइल सेट कसरी किन्ने भन्ने चिन्ता पनि भयो । सस्तो मूल्यको सेट किन्ने सोच बनाएँ ।

बेलुका निराश भएर घर पुगेँ । श्रीमतीले आफूले चिनेका प्रहरीलाई खबर त गर्नुभएछ तर हराएको बोबाइल के भटिएला र भन्ने सोचले विश्वास भएनछ । म घर पुगेको केही पछि मेरो भतिज साहित्यले भन्यो, “ठुलो बाबा, हजुरको जिमेल एकाउन्ट र पासवर्ड मलाई दिनुहोस् त ।” उसको घर इलाम हो तर हामीसँगै बसेर ऊ बिएस्सी सिएस्आइटी पढिरहेको छ । आइटीमा राम्रै जानकारी राख्छ । मोबाइल हराएको भन्ने सुन्दा उसलाई पनि चिन्ता लागेको रहेछ । मेरो आइडी पाएपछि उसले ल्यापटप खोल्यो र धेरै बेर के के गरिह्यो । अनि मलाई ल्यापटप देखाउँदै भन्यो, “बाबा, तपाईँको फोन चाबेलमा छ । भाइब्रेट मोडमा रहेछ । म खोल्छु है । चार्ज सकिन लागेछ । डाटा त म सुरक्षित गरिहाल्छु ।

” “हँ के भन्छ । भेटियो ?
” “भेटिन त के भेटिन्थ्यो । चोर यहाँ पुगेछ ।”

एकैछिनमा उसले फेरि भन्यो, “यो मान्छे गाडीमा हुनुपर्छ
। कि त मोबाइल गाडीमै छ । मोबाइल बाटोबाटो कुध्दै छ । हेर्नुहोस् त । ”

मैले पनि हेरेँ । मोबाइलको सङ्केत गुगल म्यापमा बाटो बाटो कुदरहेको थियो । मलाई झट्ट सम्झना आयो, म बिहान भक्तपुरबाट नयाँ बसपार्क जाने गाडी चढेको थिएँ । कतै त्यो गाडी भक्तपुर आउने गाडी नै त होइन ? हामीले ट्रयाकिङ हेरिरह्यौँ । गाडी गौशाला आइपुग्यो ।

साहित्यले फेरि भन्यो, “बाबा, गाडी चिन्नुहुन्छ ? जाऔँ गाडी हेरौँ र खोज्न लगाऔँ ।” उसले यसो भन्नासाथ मलाई सोच आयो, पहिले प्रहरीलाई भन्नुपर्छ ।

म, श्रीमती र भतिजो साहित्य मोबाइल ट्रयाकिङ गरेको ल्यापटप बोकेर सानोठिमीस्थित प्रहरी कार्यालयमा पुग्यौँ र सबै बेलिविस्तार लगायौँ । यतिखेर मोबाइल पेप्सिकोला चोकमा देखिएको थियो । हाम्रा सबै कुरा सुनेपछि प्रहरीले भने, “भाइ ट्रयाकिङ गरेरै बस । म गाडी रोकेर खोजिदिन्छु । त्यहीँ भए त भेटिइहाल्छ नि ।”

बस आइपुुग्यो । प्रहरीले बस रोके । बिहानकै बस थियो त्यो गाडीका चालक र सहचालकले मलाई चिनिहाले । मैले प्रहरीलाई खबर गरेको, मोबाइल ट्रयाक गरेको सबै कुरा बताएपछि मानिस ओर्लन नदिई प्रहरीले खोजिदिए । बिहान म बसेको भन्दा अर्कै स्थानमा मोबाइल ट्रयाक भयो । सहचालकले अलिक आत्तिँदै त्यस ठाउँमा खोजी गरे अनि उनले मेरो मोबाइल सेट झिकेर “यहीँ त रहेछ नि” भन्दै दिए । म अकमक्क परेँ, मोबाइल बसमै थयो भने बिहान किन भेटिएन र अहिले म बसेभन्दा अर्कै ठाउँमा कसरी भेटियो ? चोरिएको थियो भने पनि यतिबेर आफ्नो पार्न नसक्ने त्यो अभागी चोर को थियो ?

जे होस् मोबाइल पाउँदा मेरो रक्तचाप घटेझैँ भयो । हामीले प्रहरी, चालक र सहचालकलाई धन्यवाद दियौँ । छोरालाई सही शिक्षा दिइएको रहेछ भन्दै श्रीमती मुस्कुराउनुभयो । मेरो हात परेको एक मिनेट नबित्दै बच्चाले आमा भेट्दा निदाएजसरी मोबाइ पनि स्विच अफ भयो । हामी छोराको बुद्धिको प्रशंसा गर्दै घर पुग्यौँ ।

डा.गणेशप्रसाद भट्टराई

प्रतिक्रिया