अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई क्रिमियामाथि रूसको नियन्त्रण अस्वीकृत गर्ने अभिव्यक्तिको कडा आलोचना गरेका छन्। ट्रम्पले उक्त टिप्पणीलाई “रूससँगको शान्ति वार्ताका लागि अत्यन्तै हानिकारक” भन्दै आक्रोश व्यक्त गरेका छन्।
“जेलेन्स्कीका उत्तेजक भनाइहरूले यो युद्धको समाधान झनै कठिन बनाएको छ। उनीसँग गर्व गर्न लायक केही छैन। युक्रेनको अवस्था अत्यन्तै नाजुक छ — उनले या त शान्ति रोज्न सक्छन्, वा तीन वर्षसम्म लडेर सम्पूर्ण राष्ट्र गुमाउन सक्छ,” ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा लेखेका छन्।
जेलेन्स्कीले ट्रम्पको आलोचनालाई परोक्ष जवाफ दिँदै युक्रेन संविधान अनुसार नै अघि बढ्ने बताएका छन्। उनले २०१८ मा माइक पिम्पियोले जारी गरेको ‘क्रिमिया घोषणापत्र’को पर्दातस्बिर (स्क्रीनसट) पनि साझा गरेका छन्, जसले क्रिमियाको रूसी अधिग्रहण अस्वीकार गरेको थियो।
यसैबीच, अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले वार्ता त्याग्ने चेतावनी दिएका छन् भने राष्ट्रपति ट्रम्पका विशेष दूत कीथ केलोग र स्टिभ विटकोफ क्रमशः लन्डन र रुसमा कूटनीतिक भेटघाटमा सहभागी हुनेछन्।
तर, युक्रेन क्रिमियाको रूसी कब्जा स्वीकार नगर्ने अडानमा अडिग छ। “यो हाम्रो संविधानविपरीत हो, हामीले कानुनी रूपमा क्रिमियाको अधिग्रहण कहिल्यै स्वीकार गर्ने छैनौं,” जेलेन्स्कीले दोहोर्याए।
प्रतिक्रिया