Mineola, NY – अप्रिल १४, २०२५ न्युयोर्कको लङ आइल्याण्डस्थित Theodore Roosevelt Executive and Legislative Building मा सम्पन्न वैशाखी तथा विक्रम संवत २०८२ को नयाँ वर्ष विशेष समारोहमा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष टक बहादुर रुवालीलाई नासाउ काउन्टीद्वारा सम्मान गरिएको छ। नेपाली समुदायप्रति उहाँले पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो प्रशंसापत्र (Citation) प्रदान गरिएको हो। कार्यक्रम नासाउ काउन्टी कार्यकारी प्रमुख Hon. Bruce A. Blakeman र काउन्टी मानव अधिकार आयोगका आयुक्त डा. बबी कुलाठी को व्यवस्थापन एवं भारतीय संघसंस्थाहरू र अमेरिकास्थित नेपाली समुदायको छाता संस्था CCNC USA को सह–आयोजनामा सम्पन्न भएको हो।
समारोहका प्रमुख अतिथि भारत सरकारका सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयका राज्य मन्त्री श्री रामदास आठवले रहनु भएको थियो। कार्यक्रम संयोजन दिपक बन्सलले गर्नुभएको थियो। विभिन्न समुदायका सांस्कृतिक कार्यक्रममध्ये नेपाली छोरी सकल्प क्षेत्रीले “यो नेपाली शिर उचाली अन्धकारमा लम्कन्छ” गीतमा प्रस्तुत गरेको नृत्य विशेष आकर्षण बन्यो। सो प्रस्तुतिमा विदेशी पाहुनाहरू पनि रमाउँदै नाचेको दृश्य कार्यक्रममा जीवन्तता थप्ने प्रमुख क्षण बन्यो। टक रुवालीको सम्मान नेपाली समुदायको गौरवको विषय भएको भन्दै CCNC USA का अध्यक्ष बाबुराम शर्मा र महासचिव शकरराज भण्डारीले संयुक्त वक्तव्य मार्फत खुसी व्यक्त गर्नु भएको छ। वक्तव्यमा भनिएको छ, “समर्पित सामाजिक अभियन्ता र नेतृत्वकर्ता टक रुवालीज्यूलाई प्राप्त यो सम्मान सम्पूर्ण नेपाली समुदायको पहिचान र योगदानको कदर हो। यसले हामी सबैमा थप ऊर्जा र प्रेरणा थपेको छ।
” समारोहमा वेद खरेल, विश्वराज वास्तोला, मोहन क्षेत्री, निर्मल थपलिया, विशाल रेग्मी, राजेन्द्र केसी, लक्ष्मी थापा, लक्ष्मी पौडेल, रामु क्षेत्री, कलावती खरेल, निशा शर्मा लगायत नेपाली समुदायका अगुवा तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। CCNC USA परिवारले रुवालीप्रति बधाई दिँदै आगामी दिनमा अझ उल्लेखनीय योगदानको अपेक्षा गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाली कला, संस्कृति, एकता र सामाजिक सेवामा उहाँले पुर्याउँदै आउनुभएको योगदान अत्यन्तै प्रशंसनीय छ। यो सम्मान सम्पूर्ण समुदायको साझा सफलताको प्रतीक हो।” समारोहमा Town Clerk Ragini Srivastava, Supervisor Jennifer DeSena (Town of North Hempstead), Town of Oyster Bay, Zahid Syed (Town of Hempstead), Nassau County Office of Minority Affairs, Murtajiz Naqvi, Harry Malhotra लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। यो सम्मानले नेपाली समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ दृढ, एकीकृत र प्रेरित बनाएको विश्वास समाजका अगुवाहरूले व्यक्त गरेका छन्।
प्रतिक्रिया