अमेरिकाको म्यारील्यान्ड राज्यस्थित एन अरुन्डेल काउन्टीमा २०१५ मा भएको २१ वर्षीया पलक पटेलको जघन्य हत्या आज १० वर्ष पुगेको छ। तर, हत्यामा संलग्न उनका श्रीमान् भद्रेशकुमार पटेल अझैसम्म पक्राउ परेका छैनन्। पति पटेल १० वर्ष देखि अझै फरार नै रहेका छन् ।
एफबिआई र स्थानीय प्रहरीले भद्रेश कुमारको जानकारी दिने व्यक्तिलाई २५०,००० को इनाम दिने घोषणा गरेका छन्। उनी २०१७ देखि नै एफबिआइको १० जना मध्ये कै सर्वाधिक खोजिएका सूचीमा छन्।
भारतमा सन् २०१३ मा विवाह गरेर अमेरिका आएका पलक र भद्रेशकुमारको प्रवेशाज्ञा(भिसा) २०१५ मा सकिएको थियो। पलक परिवारलाई सम्झिएर भारत फर्कन चाहन्थिन्, तर भद्रेशकुमार फर्कन नचाहेपछि उनीहरूबीच तनाव चुलिएको थियो।
हत्या भएको राती दुवै जना डन्किन डोनट्समा काम गरिरहेका थिए। पलकले दूरवार्ता (फोन)मा परिवारसँग भारत फर्कने कुरा गरिरहँदा भद्रेशकुमारले क्रोधित भएर उनलाई चक्कुले पटक–पटक प्रहार गरेर हत्या गरे।
हत्या पछि भद्रेशकुमार न्यू जर्सीको नेवार्क पुगेका थिए। त्यहाँ जडान भएको चित्रग्राहिणीमा (सिसिटिभी )उनलाई नेवार्क-पेन रेल चौकी (स्टेशन)मा देखाएको थियो, त्यसपछि उनी गायब भए।
प्रहरी प्रमुख अमल अवाडले भने, “पलकको सुन्दर जीवन निर्दयी तरिकाले खोसियो। हामी न्याय नपाएसम्म नरोकिनेछौं।”
अहिलेसम्म सयौं सूचना आएको भए पनि भद्रेशकुमार अझै फरार छन्। यदि कसैसँग कुनै जानकारी छ भने तुरुन्तै एफबिआई वा स्थानीय प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
https://x.com/FBIMostWanted/status/1778785527560348067
प्रतिक्रिया