संयुक्त राज्य अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ-१६ लडाकु विमान बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यसले प्रशान्त क्षेत्रमा रहेको अमेरिकाको प्रमुख साझेदारको हवाई शक्तिमा उल्लेखनीय सुधार ल्याउनेछ। यो घोषणा अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले “चीनको आक्रामकता” को सामना गर्ने प्रतिबद्धता जनाएपछि आएको हो।
अमेरिकी रक्षा सुरक्षा सहयोग निकाय (डिएससिए) ले मंगलबार ५.५८ बिलियन डलर बराबरको यो बिक्री सम्झौताको घोषणा गर्यो। डिएससिएका अनुसार “यो सम्झौताले दक्षिणपूर्वी एसियामा शान्ति, स्थायित्व, र आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण साझेदारलाई बलियो बनाउँदै अमेरिकी विदेश नीति र राष्ट्रिय सुरक्षालाई सहयोग पुर्याउनेछ।”
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “फिलिपिन्सको सुरक्षासँग सम्बन्धित कुनै पनि सम्झौताले तेस्रो पक्षलाई असर गर्नु हुँदैन, न त यसले क्षेत्रीय शान्ति धम्क्याउनु पर्छ।”
फिलिपिन्स दक्षिण चीन सागरमा चीनको दाबीको अगाडि अडिरहेको मुलुक हो। अन्तर्राष्ट्रिय अदालतले चीनको दाबी अस्वीकार गरे तापनि बेइजिङले आफ्नो प्रभुत्व जमाउने प्रयास जारी राखेको छ।
हेगसेथले अमेरिका फिलिपिन्समा थप सैन्य उपकरण तैनाथ गर्ने ,संयुक्त तालिमलाई प्रवर्द्धन गर्ने र रक्षा उद्योगमा सहकार्यलाई प्राथमिकता दिने बताए । उनले फिलिपिन्सका रक्षा मन्त्री गिल्बर्ट टियोडोरोसँगको बैठकमा भने, “अमेरिका र फिलिपिन्सको गठबन्धन दृढ छ, विशेष गरी साम्यवादी (कम्युनिस्ट) चीनको आक्रामकता सामना गर्न।”
फिलिपिन्सले १६ वटा एक सिटे एफ-१६ सी ४ वटा दुई सिटे एफ-१६डि विमानको अनुरोध गरेको छ। यी विमानहरू अमेरिकी वायुसेनामा १९७० को दशकमा सेवा प्रवेश गरेका थिए। निर्माता लकहीड मार्टिनका अनुसार नयाँ संस्करणका एफ-१६ ब्लक ७०/७२ विश्वकै सबैभन्दा उन्नत चौथो पुस्ताका लडाकु विमान हुन्।
एफ- १६ को अधिकतम गति १,५०० माइल प्रति घण्टा छ, जुन हाल फिलिपिन्सको एफ-ए -५० लडाकु विमानको तुलनामा ३५० माइल प्रतिघण्टा बढी हो। फिलिपिन्ससँग हाल दक्षिण कोरियाली निर्मित १२ वटा एफ-ए- ५० वटा विमान मात्र छन्, जसले हल्का लडाकु भूमिकामा सेवा दिइरहेका छन्।
हेगसेथले भने, “२१औं शताब्दी स्वतन्त्र बनाउन अमेरिका आफ्ना साझेदारहरूसँग काँधमा काँध मिलाएर उभिन तयार छ।” ट्रम्प प्रशासनले हिन्द-प्रशान्त क्षेत्रलाई प्राथमिकता दिँदै रणनीतिक नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया