अमेरिकाको म्यासाचुसेट्स राज्यको टफ्ट्स विश्वविद्यालयकी अन्तर्राष्ट्रिय स्नातक विद्यार्थीलाई मंगलबार साँझ संघीय अधिकारीहरूले हिरासतमा लिएका छन्।
टफ्ट्स विश्वविद्यालयका अध्यक्ष सुनील कुमारले क्याम्पसलाई पठाइएको विधुतिय डाक(इमेल)मा उक्त विद्यार्थीलाई सोमरभिलस्थित एक आवासगृह भवन बाहिर पक्राउ गरिएको जानकारी दिएका छन्।
विद्यार्थीका वकिल महसा खानबाबाईका अनुसार हिरासतमा लिइएकी विद्यार्थी टर्कीकी नागरिक रुमेसा ओजटुर्क हुन्।
ओजटुर्क टफ्ट्समा विधा वारिधी( पीएचडी )गर्ने क्रममा वैध एफ-१ विद्यार्थी प्रवेशाज्ञा(भिसा) रहेको उनले बताइन्।
ओजटुर्कलाई रमजानको व्रत तोड्न साथीहरूसँग भेट्न जाँदै गर्दा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) का गुप्तचरहरुले पक्राउ गरेको खानबाबाईले खुलासा गरिन्।
“हामीलाई उनको वर्तमान अवस्थाबारे कुनै जानकारी छैन, र सम्पर्क गर्न पनि सकेका छैनौँ। हालसम्म कुनै आरोप लगाइएको छैन,” खानबाबाईले भनिन्। ओजटुर्कलाई म्यासाचुसेट्सको सीमा बाहिर नलगियोस् भनेर दायर गरिएको कानूनी याचिका न्यायाधीशले स्वीकार गरेका छन्।
टफ्ट्स विश्वविद्यालयका अध्यक्षले उक्त घटनाबारे थप जानकारी नभएको भन्दै अनुसन्धान गरिरहेको बताएका छन्।
“विद्यार्थीको प्रवेशाज्ञा खारेजी भएको जानकारी मात्र पाएका छौँ। घटनाका कारण र परिस्थिति प्रस्ट छैनन्,” विधुतिय डाक( इमेल)मा उल्लेख गरिएको छ।
घटनाले अमेरिकी प्रवेशाज्ञा प्रणाली र अन्तर्राष्ट्रिय विद्यार्थीका कानूनी सुरक्षाबारे थप प्रश्नहरू उठाएको छ।
प्रतिक्रिया