रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दुई घण्टा लामो दूरभाष ( टेलिफोन)वार्तापछि युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमणहरू ३० दिनका लागि रोक्न सहमति जनाएका छन्।
यस आंशिक युद्धविरामले दुवै पक्षलाई ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न बाध्य बनाउँछ, जसले द्वन्द्वको तनाव कम गर्ने अपेक्षा गरिएको छ। साथै, रूस र युक्रेनबीच १७५-१७५ कैदीहरूको आदानप्रदान गर्ने योजना पनि रहेको छ।
ट्रम्पले युद्ध रोक्न पहल गर्दै पुटिनलाई आक्रमण नरोकिए द्वन्द्व थप जटिल हुनसक्ने चेतावनी दिएका थिए। उनले रूस र युक्रेनबीच कैदी आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने र नागरिक संरचनामा हमला रोक्नुपर्ने बताएका थिए। वार्तापछि पुटिनले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण ३० दिनका लागि स्थगित गर्ने निर्णय गरे।
यद्यपि, पुटिनले पूर्ण युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन्। उनले युक्रेनले जबर्जस्ती सैनिक भर्ती रोक्नुपर्ने, विदेशी सैन्य सहायता नपाउने सुनिश्चित गर्नुपर्ने माग राखेका छन्। युक्रेनले भने पुटिनका शर्तहरू अस्वीकार गरेको छ।
कालो सागर क्षेत्रको स्थिरता र आगामी वार्ताबारे दुवै नेताले छलफल जारी राख्ने सहमति जनाएका छन्।
प्रतिक्रिया