यदि ईरानले विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग बन्द गर्छ भने यसबाट सबैभन्दा बढी चीनलाई असर पर्ने अमेरिकी विदेश सचिव मार्को रुबियोले आइतबार बताएका छन् ।
उनले सिबीएस न्युजको ‘फेस द नेसन’ नामक कार्यक्रममा बोल्दै भने चीनले नै यस बारेमा क्रोधित हुनु पर्छ किनकि उनीहरूको धेरै तेल त्यहीबाट आउँछ।” रुबियोले यो कार्य ईरानका लागि “आर्थिक आत्महत्या” हुने फक्स न्युजमा बताए।
उनले अगाडी भने अमेरिकासँग “यसलाई सामना गर्ने विकल्पहरू” छन्, तर यो कदमले “हाम्रो भन्दा अन्य देशहरूको अर्थतन्त्रलाई धेरै नराम्रो असर पार्नेछ।”
उनले यसले “ठूलो मूल्य वृद्धि निम्त्याउनेछ जसलाई हामीबाट मात्र नभई अरूबाट पनि प्रतिक्रिया आवश्यक पर्नेछ” भने।
यसैबीच, अमेरिकी गृह सुरक्षा विभागले आइतबार अमेरिकामा “खतरा बढेको वातावरण” को चेतावनी दिँदै एउटा सूचना जारी गरेको छ। यसले ईरानमा अमेरिकी हमलापछि अन्तर्जाल( साइबर) आक्रमणको निरन्तर सम्भावना रहेको उल्लेख गरेको छ।
अमेरिकी विदेश विभागले “यस क्षेत्रमा अस्थिर र अप्रत्याशित सुरक्षा अवस्था” को कारण लेबनानबाट गैर-आपतकालीन अमेरिकी सरकारी कर्मचारी र परिवारका सदस्यहरूलाई फिर्ता बोलाउन आदेश दिएको छ।
एउटा अद्यावधिक सुरक्षा सतर्कतामा भनिएको छ, “क्षेत्रीय घटनाक्रमका कारण, हामी अमेरिकी नागरिकहरूलाई सतर्क रहन र ताजा घटनाक्रमहरूको लागि समाचार निगरानी गर्न प्रोत्साहित गर्दछौं।” यो कदम अमेरिकाले ईरानविरुद्ध अभूतपूर्व सैन्य कारबाही गरेपछि र सम्भावित प्रतिशोध वा व्यापक द्वन्द्वको खतराबीच आएको हो।
प्रतिक्रिया