भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसूद पेजेस्कियनसँग मध्यपूर्वमा बढ्दो हिंसाका बारेमा “गहिरो चिन्ता” व्यक्त गरेका छन्। अमेरिकी आक्रमणले यस क्षेत्रलाई थप अस्थिर बनाउने खतरा उत्पन्न गरेपछि भारतको विदेश मन्त्रालयले आइतबार यो जानकारी दिएको हो।
आइतबार दुई नेताबीच भएको दूरवार्तामा पेजेस्कियनले मोदीलाई “इरान र इजरायलबीच चलिरहेको द्वन्द्व” बारे “विस्तृत जानकारी” गराएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
मोदीले पेजेस्कियनलाई “भारत शान्ति र मानवताको पक्षमा रहेको” बताएको विज्ञप्तिमा जनाईएको छ। मोदीले “तत्काल तनाव कम गर्न, संवाद र कूटनीति नै अगाडि बढ्ने बाटो भएकोमा जोड दिए” र “क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्वको शीघ्र पुनःस्थापनाका लागि भारतको समर्थन दोहोर्याए” विज्ञप्तिमा भनिएको छ।
व्हाइट हाउसले इरानका तीन प्रमुख परमाणु स्थलमा हमला गरी संयुक्त राज्य अमेरिकालाई प्रत्यक्ष रूपमा क्षेत्रीय हिंसामा धकेलेपछि विश्व नेताहरूले युद्धको कूटनीतिक समाधानका लागि आह्वान दोहोर्याएका छन् ।
इजरायलले जुन १३ मा इरानमा पहिलो पटक ठूलो आक्रमण गरेको र परमाणु क्षमतालाई निशाना बनाएको दाबी गरेको थियो ।
प्रतिक्रियामा तेहरानले पनि जवाफी आक्रमण गरेको थियो।
प्रतिक्रिया