अमेरिकी विध्वंसक जहाज दक्षिणी सीमामा पठाइयो, अवैध आप्रवासन रोक्न प्रयास

इनेप्लिज २०८१ चैत २ गते ०:३३ मा प्रकाशित

अमेरिकी सरकारले दक्षिणी सीमामा अवैध आप्रवासन रोक्न थप सुरक्षा कडाइ गर्दै युएसएस ग्रेभली नामक नौसेना विध्वंसक जहाज तैनाथ गरेको छ।

अमेरिकी उत्तरी कमान्डका अनुसार ट्रम्प प्रशासनको कार्यकारी आदेश अनुसार यो जहाज सीमा सुरक्षा अभियानमा सामेल गराइएको हो। युएसएस ग्रेभली जसले ला सागर सीमामा हुथी आक्रमणको जवाफ दिने महत्त्वपूर्ण भूमिका खेलेको थियो । शनिबार भर्जिनियाको योर्कटाउन बाट प्रस्थान गरेको छ।

उत्तरी कमान्डका सेनापति ग्रेगोरी गुइलटले ग्रेभलीको समुद्री क्षमताले हाम्रो सीमा सुरक्षा रणनीतिलाई अझ सुदृढ बनाउने र अमेरिकाको क्षेत्रीय अखण्डता, सार्वभौमिकता, र सुरक्षालाई मजबुत बनाउने बताए ।

युएसएस ग्रेभलीमा अमेरिकी तट रक्षकको विशेष कानून प्रवर्तन टोली पनि रहनेछ। उक्त टोलीले पाइरेसी (समुद्री डकैती),सैन्य सुरक्षा, आतंकवाद विरोधी अभियान, आप्रवासन नियन्त्रण, तथा मानवीय उद्धार कार्यहरूमा अनुभव राखेको छ।

यस अघि नै अमेरिकी सरकारद्वारा हजारौं सक्रिय कर्तब्यमा रहेका सैनिकहरू दक्षिणी सीमामा तैनाथ गरिएका छन्, जसले मुख्यत प्रशासनिक तथा रणनीतिक सहायता कार्यहरू गरिरहेका छन्।

विशेष गरी अवैध आप्रवासन नियन्त्रण तथा सीमा सुरक्षा मजबुत बनाउन अमेरिकी दक्षिणी सीमामा सुरक्षा बलको उपस्थिति बढ्दै गइरहेको छ । ट्रम्प प्रशासनले सीमा सुरक्षा नीतिमा थप कठोरता अपनाउँदै नयाँ रणनीतिहरू कार्यान्वयन गरिरहेको छ।

प्रतिक्रिया