कोलम्बिया विश्वविद्यालयका प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू निष्कासित, निलम्बित

इनेप्लिज २०८१ फागुन ३० गते ०:०६ मा प्रकाशित

कोलम्बिया विश्वविद्यालयले वसन्त २०२४ मा ह्यामिल्टन सभाकक्ष कब्जा गर्ने विद्यार्थीहरूलाई कडा अनुशासनात्मक कारबाही गरेको छ। केही विद्यार्थीहरूलाई विश्वविद्यालयबाट निष्कासित गरेको छ । केहीलाई वर्षौंसम्म निलम्बन गरिएको छ भने केहीको डिग्री (प्रमाणपत्र )अस्थायी रूपमा रद्ध गरिएको एबिसीन्यूजले जनाएको छ ।

विश्वविद्यालय प्रशासनले बिहीबार यो निर्णय लिएको बताउँदै यसले विश्वविद्यालयको नियम अनुसार निष्पक्ष अनुसन्धान, सुनुवाइ, र निर्णय प्रक्रिया पूरा गरेको जनाएको छ। यद्यपि कति विद्यार्थीहरू प्रभावित भए भन्ने खुलाइएको छैन।

अप्रिल २०२४ को अन्त्यतिर, प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूले ह्यामिल्टन सभाकक्ष कब्जा गरे। प्रहरीको आदेश अवज्ञा गरेपछि उनीहरूले भवनको बाहिर अवरोधहरू जारी राखे। न्यूयोर्क प्रहरी बिभागले भवनमा प्रवेश गरी धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो ।

विश्वविद्यालयका अनुसार, एक व्यक्तिले भवन भित्र लुकेर अन्यलाई भित्र छिराएका थिए। सुरक्षाकर्मीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। विश्वविद्यालयले कब्जा गर्ने समूहमा विद्यार्थीहरू मात्र नभइ अन्य बाहिरी व्यक्ति समेत रहेको बताएको छ।

जुन २०२४ मा, म्यानह्याटन जिल्ला न्यायाधीशले अधिकांश प्रदर्शनकारीहरूमाथि लागेको मुद्दा खारेज गरे। तर, प्रहरीले अधिकारीहरूलाई आक्रमण गर्नेहरूमाथि मुद्दा अघि बढाउने निर्णय गर्‍यो।

कोलम्बिया विश्वविद्यालयका अध्यक्ष मिनुश शाफिकले आन्दोलनको प्रतिक्रियामा अगस्त २०२४ मा राजीनामा दिए। केही दिन अघि विश्वविद्यालयका एक प्रमुख आन्दोलनकर्ता नेता महमूद खलीललाई आप्रवासन अधिकारीहरूले पक्राउ गरेका छन् ।

उनि स्थायी आवासीय पत्र (ग्रीनकार्ड)व्यक्ति हुन् तथापी उनि हमासको समर्थक भएकोले उनको प्रवेशाज्ञा रद्ध गरिएको छ । उनि अझै थुनामा छन् । र ,उनलाई निष्काशन गरिने प्रक्रियामा राखिएको छ तथापी उनलाई तुरुन्त छोड्न अदालतले समेत आदेश दिएको छ ।

उनलाई लुजियानामा राखिएको छ । उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास समर्थक भएको आरोप लगाएका छन्। विदेश सचिव मार्को रुबियोले पनि उनलाई निष्काशन गर्ने बताएका छन् ।

प्रतिक्रिया