भारतको उत्तराखण्ड राज्यको तिब्बत सीमाक्षेत्र नजिक एक राजमार्ग निर्माणस्थलमा आएको हिमपहिरोले कम्तीमा चार मजदुरको ज्यान लिएको छ। भारतीय सेनाका अनुसार गत शुक्रबार मना पास नजिकैको यस दुर्घटनामा ५५ मजदुर हिउँमा फसेका थिए, जसमध्ये ५० जनालाई जीवितै उद्धार गरिए पनि चारजनाको पछि मृत्यु भयो।
बाँकी पाँच जना मजदुर अझै हराइरहेका छन्, र उनीहरूको खोजी कार्य जारी रहेको छ। सेनाले उद्धार कार्यमा उदग्रबिमान (हेलिकप्टर)सहित विभिन्न टोली परिचालन गरेको छ। घाइतेहरूको संख्या यकिन नभए पनि उनीहरूलाई प्राथमिक उपचार तथा अस्पताल स्थानान्तरणको व्यवस्था मिलाइएको छ।
घटनास्थलमा रहेका वरिष्ठ प्रशासनिक अधिकारी चन्द्रशेखर वशिष्ठका अनुसार केही मजदुर गम्भीर रूपमा घाइते भएका छन्। उद्धारमा कठिनाइ भइरहेको बताउँदै भारत-तिब्बत सीमा प्रहरीका प्रवक्ता कमलेश कमलले भारी हिमपात, हिउँको मोटो तह तथा न्यून दृश्यताले उद्धार कार्य प्रभावित बनाएको बताए ।
विशेष गरी जाडो महिनामा यो क्षेत्र हिमपहिरो तथा पहिरोको जोखिमयुक्त मानिन्छ । यसअघि, २०२१ मा उत्तराखण्डमा हिमनदी खसेर आएको बाढीमा करिब १०० जनाको मृत्यु भएको थियो भने २०१३ मा आएको बाढी र पहिरोले ६,००० भन्दा बढीको ज्यान लिएको थियो।
प्रतिक्रिया