यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच ह्वाइट हाउसमा भएको तनावपूर्ण छलफलपछि युरोपेली नेताहरूले थुप्रै प्रतिक्रिया दिएका छन् ।
ओभल कार्यालयमा भएको भेटपछि तपाई कहिल्यै एक्लो हुनुहुने छैन भन्दै युरोपेली नेताहरूको यूक्रेनलाई सन्देश दिएका छन् ।
जेलेन्स्कीले ट्रम्पसँग ह्वाइट हाउसमा भएको तनावपूर्ण छलफलपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली परिषद (काउन्सिल)का अध्यक्ष एन्टोनियो कोस्टासँग कुरा गरेका छन्। यसबारे जानकारी भएका यूक्रेनी स्रोतका अनुसार, जेलेन्स्कीले नेटो महासचिव मार्क रुट्टेसँग पनि कुराकानी गरेका छन्।
यसैबीच दुई राष्ट्रपतिहरूबीचको सो छलफलप्रति युरोपेली नेताहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन्: को कसले के भने :
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन : यहाँ एक आक्रमणकारी छ, जो रूस हो, र एक आक्रमणमा परेको राष्ट्र छ, जुन यूक्रेन हो,” म्याक्रोनले फ्रेन्च प्रसारण संस्था बिएफएमटिभीलाई भने।
“हामीले तीन वर्षअघि यूक्रेनलाई सहयोग गर्ने र रूसमाथि प्रतिबन्ध लगाउने निर्णय सही थियो, र हामीले यो जारी राख्नुपर्छ।” “हामीले सबै सहयोगीहरूलाई धन्यवाद दिनुपर्छ, र युद्धको सुरुदेखि नै लडिरहेका यूक्रेनीहरूलाई सम्मान गर्नुपर्छ।”
बेलायती प्रधानमन्त्री कियर स्टार्मर: उनका प्रवक्ताका अनुसार उनले आज राष्ट्रपति ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरे। “उनी यूक्रेनप्रति आफ्नो अटल समर्थन कायम राख्छन् । र सार्वभौमिकता तथा सुरक्षाको आधारमा स्थायी शान्तिको बाटो खोज्न आफ्नो भूमिका निभाइरहेका छन्।”
युरोपेली संघकी उच्च कूटनीतिज्ञ कायजा कालास: उनले एक विज्ञप्तिमा भनिन्, स्पष्ट छ कि स्वतन्त्र विश्वलाई नयाँ नेतृत्वको आवश्यकता छ।
युरोपेली संघका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई बलियो रहन आग्रह गरे।
इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी: ट्रम्पकी प्रमुख युरोपेली सहयोगी मेलोनीले यूक्रेन युद्धबारे छलफल गर्न अमेरिका र युरोपेली राष्ट्रहरूको संयुक्त सम्मेलन बोलाउने प्रस्ताव राखिन्। उनले भनिन्, विभाजनले पश्चिमी राष्ट्रहरूलाई कमजोर बनाउँछ।
पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्क: प्रिय जेलेन्स्की, प्रिय यूक्रेनी साथीहरू, तपाईहरू एक्लो हुनुहुन्न।
जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबक: यूक्रेन एक्लो छैन। जर्मनी आफ्ना युरोपेली साझेदारहरूसँग मिलेर रूसको आक्रमणविरुद्ध यूक्रेनको साथमा उभिएको छ। यूक्रेनको लोकतन्त्रको रक्षा गर्ने र शान्ति तथा सुरक्षाको खोजी गर्ने संकल्प हाम्रो पनि हो।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज :यूक्रेन,स्पेन तपाईको साथमा छ।
मोल्दोभाकी राष्ट्रपति माइया सान्डु: सत्य सरल छ। रूसले यूक्रेनमाथि आक्रमण गर्यो। रूस नै आक्रमणकारी हो। यूक्रेन आफ्नो स्वतन्त्रताको रक्षा गर्दैछ र हाम्रो पनि। हामी यूक्रेनको साथमा छौं।
लिथुएनियाका राष्ट्रपति गिटानास नाउसिडा: यूक्रेन, तपाईं कहिल्यै एक्लो हुनुहुने छैन।
एस्टोनियाका विदेशमन्त्री मार्गस साख्ना: शान्तिका लागि एक मात्र बाधा भनेको रूसी तानाशाह भ्लादिमिर पुटिनको युद्ध जारी राख्ने निर्णय हो। यदि यूक्रेनले लडाइँ रोक्यो भने, यूक्रेन नै रहने छैन। एस्टोनियाको यूक्रेनप्रति समर्थन अटल छ। युरोपले अब अघि बढ्नुपर्छ।
हामी कुर्ने होइन, युरोपसँग पर्याप्त स्रोतहरू छन् । रूसका जफत गरिएका सम्पत्तिहरूसहितले यूक्रेनलाई लड्न जारी राख्न सक्षम बनाउँछ।
हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बान : ट्रम्पका कट्टर समर्थक अर्बानले एक्समा लेखे : बलिया मानिसहरूले शान्ति कायम गर्छन्, कमजोरहरूले युद्ध ल्याउँछन्।
आज राष्ट्रपति (ट्रम्प) ले शान्तिका लागि बहादुरीपूर्वक अडान लिए। यद्यपि धेरैलाई यो पचाउन गाह्रो हुनसक्छ, धन्यवाद ,राष्ट्रपति!
युरोपेली नेताहरूले राष्ट्रपति जेलेन्स्कीलाई पूर्ण समर्थन जनाउँदै तपाई एक्लो हुनुहुने छैन भन्ने सन्देश दिएका छन्। अधिकांश नेताहरूले रूसलाई आक्रमणकारीको रूपमा चित्रण गर्दै यूक्रेनको रक्षा नै लोकतन्त्रको रक्षा हो भनेका छन्। अर्कोतर्फ, ट्रम्प समर्थक भिक्टर अर्बानले ट्रम्पको शान्ति प्रयासको पक्षमा समर्थन व्यक्त गरेका छन्।
प्रतिक्रिया