काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालमा नै तत्कालीन राजा ज्ञानेन्द्रसँग सहकार्य गर्न खोजेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीति बनाएर अगाडि बढ्न चाहेको र प्रचण्डले भने भारतको विरुद्ध सुरुङ युद्धका निम्ति परिआउँछ भने राजासँग सहकार्य गरौं भन्ने कार्यनीति लिएको दाबी गरेका हुन् । पछिल्लो समय पनि प्रचण्डमा यो व्यवस्थाप्रति नै बेचैनी देखिन थालेको आफूले अनुभव गरिरहेको उनले बताए । ज्ञवालीले यतिधेरै बेचैनी नहुन प्रचण्डलाई सुझाव दिए ।
‘एकचोटी उहाँ (प्रचण्ड) ले त्यो प्रयास गर्नुभएको हो । द्वन्द्वकालमा नै, तपाईँलाई कत्तिको याद छ ? बाबुराम भट्टराई चाहीँ लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीति बनाएर जाऔं, यसका निम्ति संसद्मा रहेका दलहरुसँग मिलेर जाउँ भन्ने, प्रचण्ड चाहीँ आज राष्ट्रियता मुख्य चुनौती हो । आज राष्ट्रियता खतरामा छ, भारतको विरुद्ध सुरुङ युद्ध गरौं, त्यसका निम्ति परिआउँछ भने राजासँग सहकार्य गरौं भन्ने उहाँको कार्यदिशा हाईन र ? पार लाग्यो ? उहाँमा एक प्रकारको बेचैनी चाहीँ देख्छु म, यति साह्रो बेचैनी चाहीँ नहुनुपर्न हो,’– उनले भने ।
२०६३ साल चैत १८ गते माओवादी सरकारमा आएपछि आफू सरकारबाट बाहिरिएको स्मरण गराउँदै उनले यस अवधिमा सबैभन्दा धेरै माओवादी नै सरकारमा बसेको बताए । यो १५÷१७ वर्षमा केही बेथितिहरु र कमजोरी भएको भएपनि सबैभन्दा ठूला श्रेय माओवादीले लिनुपर्ने उनले बबताए । साथै, प्रचण्डले जति सानो पार्टी भयो, त्यति फाइदा लिएको उनको टिप्पणी छ । पछिल्लो समय जादुको नम्बर चल्न छोडेपछि प्रचण्ड अलि बढी नै बेचैनी देखिएको उनले बताए । आफूहरु सबै जना संघीय लोकतान्त्रिक गणतन्त्रका हामी सबै पक्ष रहेको बताउँदै उनले बहकिएर व्यवस्थाको पनि प्रतिपक्षजस्तो देखिने ठाउँमा नपुग्न प्रचण्डलाई आग्रह गरे ।
प्रतिक्रिया