इलन मस्कको बिभागद्वारा पहिचान गरिएका बचतहरू मध्ये २०% अमेरिकी नागरिकलाई फिर्ता दिने

इनेप्लिज २०८१ फागुन ८ गते १२:१८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्कको सरकारी दक्षता बिभागले पहिचान गरिएका बचतहरू मध्ये २०% अमेरिकी नागरिकलाई फिर्ता दिने योजना विचाराधीन रहेको बताएका छन्। यस योजनाले अमेरिकी अर्थतन्त्रमा पुनः मुद्रास्फीतिको खतरा बढाउन सक्ने अनुमान गरिएको सिएनएनले जनाएको छ ।

डिओजीई डिभीडेण्ड अर्थात् सरकारी दक्षता बिभाग लाभांश नामक प्रस्ताव पहिलो पटक मस्कको सामाजिक सञ्जालएक्समा एक प्रयोगकर्ताले राखेका थिए। मस्कले उक्त प्रस्तावमा “राष्ट्रपतिसँग कुरा गर्छु” भनेर प्रतिक्रिया दिएका थिए। ट्रम्पले एफआईआई प्राओरिटी समिटमा बोल्दै यो अवधारणा विचाराधीन रहेको बताए।

यदि यो योजना लागू भएमा, संघीय ऋण घटाउन २०% रकम प्रयोग गरिने र बाँकी २०% अमेरिकी करदातालाई फिर्ता दिइनेछ। तर, संघीय रिजर्भको मुद्रास्फीति नियन्त्रण गर्ने प्रयासहरूमा यो निर्णयले असर पार्न सक्नेछ। जनवरी २०२५ मा अमेरिकी मुद्रास्फीति ३% पुगेको थियो, जुन जुन २०२४ पछिकै उच्च स्तर हो।

अमेरिकी नागरिकले संघीय सरकारबाट प्रत्यक्ष रकम पाएको यो पहिलो पटक होइन । कोरोना महामारीको समयमा सरकारले ८१४ बिलियन डलर बराबरको राहत रकम वितरण गरेको थियो। ट्रम्प प्रशासनले मार्च २०२० मा १,२०० र डिसेम्बर २०२० मा ६०० डलर प्रदान गरेको थियो ।

पूर्व राष्ट्रपति जो बाइडेनले मार्च २०२१ मा १,४०० डलर राहत रकम पठाएका थिए।

यसरी वितरित रकमले अमेरिकी अर्थतन्त्रमा खपत बढाउने तर मुद्रास्फीति थप चर्काउने सम्भावना रहेको छ। यस योजनाबारे ट्रम्प प्रशासनले थप स्पष्ट विवरण नदिएको विभिन्न पत्रपत्रिकाले समाचार लेखेका छन् ।

प्रतिक्रिया