करिब १५,००० आन्तरिक राजस्व सेवा (आईआरएस )का कर्मचारीहरूलाई छिट्टै कामबाट हटाइने तयारी भइरहेको एबिसीन्यूजले जनाएको छ ।
यो हटाउने प्रक्रिया पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र इलन मस्कको सरकार दक्षता विभागको पहल अन्तर्गत भइरहेको छ, जसको उद्देश्य सरकारी संस्थाहरूमा लागत कटौती गर्नु हो।
संघीय कर्मचारी व्यवस्थापन कार्यालयले पूर्ण रोजगारी सुरक्षा नभएका सबै परीक्षण अवधिका कर्मचारीहरूलाई बर्खास्त गर्न निर्देशन दिएको छ।
यी कटौतीहरू कर दाखिला(ट्याक्स फाईल) मौशमको महत्त्वपूर्ण समयमा भइरहेको छ, जुन अप्रिल १५ सम्म कर दाखिला समय रहेकोले यस अघि उच्च चाप हुने र यसले आइआरएसको स्रोतसाधनमा थप दबाब पार्ने सम्भावना रहेको एबिसीन्यूजले जनाएको छ ।
आन्तरिक राजस्व सेवा का साथै अन्य संघीय निकायहरू पनि ठूलो संख्यामा कर्मचारी कटौतीको सामना गरिरहेका छन्। अमेरिकी गृह विभागमा २,३०० कर्मचारी हटाइँदैछन् ।
त्यस्तै ऊर्जा विभागमा १,२०० देखि २,००० सम्म, र कृषि विभाग अन्तर्गतको वन सेवामा करिब ३,४०० कर्मचारी बर्खास्त गरिँदै छन्। हालसम्म, एक हप्तामा मात्रै करिब ९,५०० संघीय कर्मचारी हटाइएका छन् भने करिब ७५,००० जनाले स्वेच्छिक निवृत्तिभरण लिएका छन्।
राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले संघीय नियुक्ति रोक लगाएको कारण आइआरएस ले केही नयाँ नियुक्ति प्रस्तावहरू फिर्ता लिएको छ। यो नियुक्ति रोक्का र कर्मचारी कटौतीले हालको कर दाखिला मौषममा आईआरएस को क्षमता र कर संकलन प्रक्रियामा गम्भीर असर पार्ने सम्भावना छ।
यी कर्मचारी कटौतीहरू संघीय सरकारको खर्च घटाउने अभियानको हिस्सा हुन्, जसमा विभिन्न सरकारी निकायहरूलाई दक्षता बढाउने आदेश दिइएको छ। आइआरएस मा हटाइने १५,००० कर्मचारीहरू मुख्य रूपमा परीक्षण अवधिमा रहेका छन्, जसको अर्थ उनीहरू स्थायी कर्मचारी होइनन् ।
यो कदमले करदाता सेवामा कस्तो प्रभाव पार्नेछ भन्ने अझै स्पष्ट छैन। यद्यपि, विशेषज्ञहरू भन्छन् कि यदि यी कटौतीहरूले कर दाखिला प्रक्रियामा संलग्न कर्मचारीहरूलाई प्रभावित गर्छ भने, कर फाइलिङ र कर फिर्ता (tax refund) प्रक्रिया ढिलो हुन सक्छ।
संघीय सरकारमा यो व्यापक कटौती राष्ट्रपति ट्रम्प र एलन मस्कको सरकार दक्षता कार्यक्रमको हिस्सा हो, जसले कम उत्पादक कर्मचारीहरूलाई हटाउने उद्देश्य राखेको छ।
सरकारको आधिकारिक प्रतिक्रिया :
ह्वाइट हाउसका अनुसार संघीय बजेटलाई स्थिर राख्न खर्च कटौती गर्न जरुरी रहेको छ। हामी सरकारलाई बढी दक्ष बनाउन चाहन्छौँ। अनावश्यक कर्मचारीहरूलाई हटाएर स्रोतहरू महत्त्वपूर्ण सेवाहरूमा केन्द्रित गरिनेछ, सरकारका प्रवक्ताले भने ।
१५,००० कर्मचारी कटौती गरेमा कर प्रणालीमा उल्लेखनीय असर पार्न सक्छन्। खासगरी यदि कर दाखिला प्रक्रिया ढिलो भयो वा करदाता सेवाहरू प्रभावित भए भने लाखौँ अमेरिकी नागरिकहरू समस्यामा पर्न सक्छन्। साथै, संघीय सरकारको यो व्यापक कटौती अभियानले अन्य सरकारी सेवा क्षेत्रहरूलाई पनि असर पार्न सक्छ।
प्रतिक्रिया