न्यूयोर्कमा जारी श्रीस्वस्थानी महोत्सव आफ्नो तेस्रो सातासम्म आइपुग्दा थप भव्य र ऐतिहासिक बनेको छ। नेपाली समुदायको अथक सहयोग र सहभागिताका कारण यो धार्मिक तथा सांस्कृतिक उत्सवले नयाँ उचाइ हासिल गरिरहेको छ।
फेब्रुअरी २, २०२५ सम्म, न्यूयोर्कमा नेपाली मन्दिर तथा नेपाली समुदाय र सांस्कृतिक केन्द्र निर्माणको लागि लगभग चौरासी हजार अमेरिकी डलर को चन्दा संकलन भइसकेको छ। यस ऐतिहासिक अभियानमा नेपाली समुदायको निरन्तर साथ र समर्थनले महोत्सवलाई अझ प्रभावकारी बनाइरहेको छ।
यस हप्ताको सबैभन्दा ठूलो दाता परशुराम पन्थी तथा परिवार हुनुहुन्छ, जसले ३,१३१ अमेरिकी डलर को उदार चन्दा प्रदान गर्नुभएको छ। उहाँको यो योगदानले मन्दिर र सांस्कृतिक केन्द्र निर्माण अभियानलाई अझ बल प्रदान गरेको छ। उहाँप्रति आयोजक समिति तथा नेपाली समुदायले विशेष धन्यवाद व्यक्त गरेका छन्।
परशुराम पन्थीजी मूल रूपमा नेपाल, अर्घाखाँची जिल्लाका निवासी हुनुहुन्छ। सन् २००७ देखि उहाँ आफ्नो श्रीमती ममता पन्थी र छोरीहरू प्रज्ञा पन्थी तथा नेहा पन्थीसँग न्यूयोर्क, अमेरिका बसोबास गर्दै आउनुभएको छ। व्यवसायिक रूपमा पनि अत्यन्त सफल परशुराम पन्थीजीले विभिन्न व्यवसायहरू सफलतापूर्वक सञ्चालन गर्दै आउनुभएको छ। साथै, उहाँ सुप्रसिद्ध 7-Eleven फ्रेन्चाइजको नेशनल बिजनेस लिडरशिप काउन्सिलका सदस्य समेत हुनुहुन्छ। नेपाली समुदायका लागि विशेष योगदान दिने व्यक्तित्वको रूपमा, उहाँ रिजउड नेपाली समाजका प्रमुख योगदानकर्तामध्ये एक हुनुहुन्छ र विभिन्न कार्यक्रमहरूमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ।
परशुराम पन्थीजीकी श्रीमती ममता पन्ती रिजउड नेपाली समाजको कार्यकारी समिति सदस्य हुनुहुन्छ। त्यस्तै, उहाँकी छोरी प्रज्ञा पन्थीले विगत दुई वर्षदेखि निःशुल्क फिटनेस कक्षा सञ्चालन गर्दै आउनुभएको छ र नेपाली समुदायका बालबालिकालाई नृत्य प्रशिक्षणमा सहायक प्रशिक्षकको रूपमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, उहाँ न्यूयोर्क श्रीस्वस्थानी महोत्सव २०२५ को मुख्य आयोजक समितिको रणनीति तथा सम्पर्क समितिका सदस्य हुनुहुन्छ। उहाँ विशेष गरी रिजउड बाहिरका भक्तजन र दाताहरूसँग सम्पर्क स्थापित गरी अभियानलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। साथै, उहाँको सम्पूर्ण परिवार ३१ दिन लामो श्रीस्वस्थानी व्रत कथामा निरन्तर रूपमा सहभागी हुँदै आएको छ।
परशुराम पन्थीजीले भन्नुभयो, “हाम्रो नेपाली समुदायको पहिचान, संस्कृति, र धर्म जोगाउन मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माण अत्यन्त आवश्यक छ। यस महाअभियानमा सहभागी हुन पाउँदा मेरो परिवार अत्यन्त खुशी छ। म सबै समुदायका साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामी सबै मिलेर यो अभियानलाई सफल पारौं।”
तेस्रो साताका दोस्रो ठूलो दाता अम्बिका ज्ञवाली र तुलसी राम आचार्य परिवार हुनुहुन्छ, जसले १,६०२ अमेरिकी डलर को योगदान गर्नुभएको छ। उहाँहरूको दानले पनि यस महान कार्यलाई थप ऊर्जा प्रदान गरेको छ। आयोजक समितिले उहाँहरूको योगदानका लागि हार्दिक आभार व्यक्त गरेको छ।
अम्बिका ज्ञवाली पेशाले नर्स हुनुहुन्छ र उहाँ नेपाली समुदायको सेवामा अत्यन्त सक्रिय रूपमा संलग्न रहनुभएको छ। त्यस्तै, तुलसी राम आचार्य नेपाली-अमेरिकी समुदायका एक सक्रिय सदस्य हुनुहुन्छ। रिजउड नेपाली समाज स्थापनाकालदेखि नै उहाँ स्वयंसेवी रूपमा सेवा प्रदान गर्दै आउनुभएको छ। हाल उहाँ रिजउड नेपाली समाजको कार्यकारी समितिका उपाध्यक्ष हुनुहुन्छ साथै, न्यूयोर्क श्रीस्वस्थानी महोत्सव २०२५ को मुख्य समारोह समिती अध्यक्षको भूमिकामा रहेका छन्।
टुलसी राम आचार्यले भने, “रिजउड नेपाली समाज, दुर्गा मन्दिर तथा विभिन्न संघ संस्था एवं मिडिया पाटनरहरूको संयुक्त सहकार्यमा १३ जनवरी २०२५ देखि १२ फरवरी २०२५ सम्म आयोजित न्यूयोर्क श्रीस्वस्थानी व्रतकथा महोत्सव भव्य रूपमा भइरहेको जानकारी गराउँछौं। संस्कृति र धर्मको निरन्तरता सुनिश्चित गर्दै, दुर्गा मन्दिर र नेपाली सामुदायिक तथा सांस्कृतिक भवन पुनर्निर्माण अभियानको लागि यस वृहत कार्यक्रमको आयोजन गरिएको छ। आजदेखि ७ दिन बाँकी रहेका महोत्सवले अझ धेरै योगदान र सहभागिता प्राप्त गर्न अपेक्षासहित समापनतर्फ अघि बढिरहेको छ।”
“यस वर्षदेखि, कर्ता बसेर वा नबसि दान गरेको सम्पूर्ण दान रकम दुर्गा मन्दिर र नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रका दाताहरूको सूचीमा थप गरिनेछ। कार्यक्रममा कर्ता बस्न इच्छुक व्यक्तिहरू र मन्दिर पुनर्निर्माणको लागि दान गर्न इच्छुक दाताहरूलाई समाजका कार्यसमिती सदस्यहरू, मन्दिर व्यवस्थापन तथा संचालन समितीका सदस्यहरू र गुरुहरूसँग सम्पर्क गर्न अनुरोध गर्दछौं।”
“रिजउड नेपाली समाजको कार्यसमितीको निर्णय अनुसार, दाताहरूको संस्थापक सदस्य हुने अवधि ३० अप्रिल २०२५ सम्म थप गरिएको हुनाले, संस्थापक सदस्यको सूचीमा रहन चाहनुहुने दाताहरूले ३० अप्रिल २०२५ सम्मको दान रकम उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछौं।”
स्वस्थानी व्रत कथाको निरन्तर पाठ, भक्तजनहरूको उत्साहजनक उपस्थिति, र सामूहिक समर्पणले यो महोत्सवलाई थप भव्य बनाएको छ। आयोजकहरू सबैलाई आगामी दिनहरूमा पनि निरन्तर सहभागी हुन, आशिर्वाद प्राप्त गर्न, र आफ्नो योगदान पुर्याउन आग्रह गर्दैछन्। मन्दिर र सांस्कृतिक केन्द्र निर्माणको यो महाअभियानलाई पूर्ण सफल बनाउनका लागि सम्पूर्ण नेपाली समुदायको निरन्तर सहयोग आवश्यक छ।
आगामी हप्ताहरूमा अझ बढ्दो सहभागिता र योगदानको अपेक्षाका साथ, आयोजक टोलीले सम्पूर्ण नेपाली समुदायलाई यस पुनीत कार्यमा एकजुट भई हातेमालो गर्न आह्वान गरेको छ।
प्रतिक्रिया