हमासले शनिवार ३ जना इजरायली पुरुषहरुलाई ४९१ दिन पछि रिहा गर्ने , पुरुषहरुको नाम सार्वजनिक 

इनेप्लिज २०८१ माघ २५ गते १७:४८ मा प्रकाशित

हमासले युद्धविराम सम्झौताको अन्तर्गत पछिल्लो कैदी आदानप्रदानको क्रममा तीन जना इजरायली पुरुषहरूलाई आगामी शनिबार रिहा गर्ने भएको छ। हामासले गाजा बाट रिहा गर्ने तीन इजरायली पुरुषहरूको नाम सार्वजनिक गरेको छ।

शनिबार हुने यो पाँचौं चरणको आदानप्रदानमा ओहाद बेन अमी, एली शाराबी, र ओर लेवी रिहा हुने अपेक्षा गरिएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार उनीहरू ४९१ दिनको बन्दी जीवनपछि रिहा हुनेछन्। यससँगै धेरै प्यालेस्टिनी कैदीहरू पनि रिहा गरिनेछन्।

५६ वर्षीय बेन अमी ७ अक्टोबर २०२३ मा उनको किबुत्ज बेएरीस्थित घरबाट अपहरणमा परेका थिए। उनकी पत्नी राज बेन अमी पनि अपहरणमा परेकी थिइन् तर नोभेम्बर २०२३ मा युद्धविरामको क्रममा उनलाई रिहा गरिएको थियो।

५२ वर्षीय शाराबी पनि किबुत्ज बेएरीस्थित घरबाट अपहरणमा परेका थिए। किबुत्जका अनुसार उनकी पत्नी र छोरीहरूलाई ७ अक्टोबरमा हत्या गरिएको थियो। उनका भाई योस्सी शाराबी, जो अपहरणमा परेका थिए, गाजामा मृत्यु भएको र उनको शव अझै त्यहीं रहेको इजरायली सेनाले जनाएको छ।

३४ वर्षीय ओर लेवी ७ अक्टोबरमा नोभा संगीत महोत्सवमा सहभागी भइरहेका बेला अपहरणमा परेका थिए। उनकी पत्नी एयनाव सोही आक्रमणमा मारिएकी थिइन्।

गत महिना कतारमा भएको युद्धविराम सम्झौताअनुसार हामासले महिलाहरू, बालबालिका, वृद्ध, र बिरामीहरूलाई प्राथमिकताका साथ रिहा गर्ने प्रतिबद्धता जनाएको थियो।

प्रतिक्रिया